काठमाडौ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सहमतिका आधारमा संविधान जारी गर्न सकारात्मक देखिएको बताएका छन् ।
कान्तिपुर दैनिकमा समाचार छ। पछिल्लो समय कांग्रेस शीर्ष नेतृत्व सहमतिका आधारमा संविधान जारी गर्न सकारात्मक पाएको छु,’ उनले निकट नेताहरूलाई भनेका छन्, ‘एमाले अध्यक्ष केपी ओलीलगायत बहुमतीय प्रक्रियाकै अडानमा छन् ।’ कांग्रेस नेतृत्व सकारात्मक भएर मात्र सहमति हुन नसक्ने पनि उनले बताएका छन् ।
एमाले नेता माधवकुमार नेपाल पनि सहमतीय संविधानकै पक्षमा रहेको एमाओवादी नेताको बुझाइ छ । तर कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाको पछिल्लो भूमिका सकारात्मक नभएको उनीहरूको आरोप छ ।
दाहालले प्रधानमन्त्री सुशील कोइराला, कांग्रेस वरिष्ठ नेता शेरबहादुर लगायतसँग पटक-पटक अनौपचारिक वार्ता गरिसकेका छन् । अनौपचारिक सहमतिपछि मात्र औपचारिक वार्ता गर्ने सहमति कोइराला र दाहालबीच भएको छ । संविधानका अन्तरवस्तुमा माघ ५ गते दिउँसो सहमतिनजिक पुगे पनि अचानक कुरा भाँडिएको थियो । त्यतिखेर संघीयताबाहेकका विषयवस्तुमा सैद्धान्तिक सहमति भएको थियो । तर पछि वार्ता भाँडिएयता दलहरूबीच दूरी बढेको छ । हाल कांग्रेस र एमाओवादीबीच माघ ५ मै टेकेर अनौपचारिक छलफल भइरहेको छ । ‘हामी पहिले जुन स्थानमा थियांै, त्यही ठाउँबाट छलफल सुरु भएको छ,’ एमाओवादी महासचिव कृष्णबहादुर महराले कान्तिपुरसँग भने, ‘वार्तालाई दाउपेचका लागि होइन, साँच्चै सार्थक वार्ता गरी निष्कर्ष निकालौं भन्ने हाम्रो भनाइ हो । अहिलेसम्म अनौपचारिक वार्ताले कुनै मूर्तरूप लिएको छैन ।’
दाहालले विपक्षी मोर्चा आन्दोलनबीच पनि अनौपचारिक वार्ता गर्न तयार रहेको भन्दै त्यसका लागि गृहकार्य गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । ‘पछिल्लो समय प्रधानमन्त्री कोइराला सकारात्मक देखिनुभएको छ,’ उनले भने, ‘तर आन्दोलन कमजोर गराउन वार्ताको कुरा गरेकोे हो वा साँच्चै सहमति चाहेको हो भन्नेमा यकिन छैन । दलहरूबीच विस्तारै विश्वासको वातावरण बन्दै गएको चाहिँ हो ।’ विपक्षीले फागुन १६ मा राजधानीमा शक्ति प्रदर्शन गर्ने भएका छन् । ‘हामी पूरै आन्दोलनको तयारीमा लागेका छांै,’ महराले भने । कान्तिपुर दैनिकमा समाचार छ।