भरतपुर – एसएलसीको तयारीमा रहेका कठार ५ का १५ वर्षीय गौरव बस्नेतको मृत्युको विषयलाई लिएर खैरहनीमा सोमवार भएको प्रदर्शनको क्रममा झडप भएको छ ।
ईकान्तिपुरमा समाचार छ । झडपको क्रममा प्रहरी र प्रदर्शनकारी तर्फका गरी आधा दर्जन बढी व्यक्ति घाईते भएका छन् । दिनभरी खैरहनी ६ नेपाल आदर्श शिक्षा सदन विद्यालय वरपरको क्षेत्र तनावग्रस्त रह्यो । घटनाको छानवीनको माग गर्दै स्थानीयवासिन्दा र केही विद्यार्थीको हुलले विद्यालयमा तोडफोडको प्रयास गरेको थियो । प्रदर्शनकारीले विद्यालयमा ढुङ्गामुढा सुरु गरेपछि घटना स्थलमा तैनाथ सुरक्षाकर्मीको टोलीले त्यसलाई रोक्ने क्रममा झडप भएको थियो । ढुङ्गामुढा प्रहारबाट विद्यालयकी शिक्षिका भवानी लोहनी सहित नाम नखुलेको ३ जना बढी विद्यार्थी घाईते भएको स्थानीय शिक्षक कमल पौडेलले बताए ।
यसैगरी सोही झडपको क्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक चिजकपुर गुरुङ, प्रहरी नायब निरिक्षक केदार अर्याल, नाम नखुलेको ३ जना प्रहरी जवान र खैरहनी ६ का ४५ वर्षीय लोकबहादुर कुँवर घाईते भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजन अधिकारीले बताए ।
कुवँरको टाउकोमा गम्भिर चोट लागेको छ । उनको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । बाँकी अन्य घाईतेको हात खुट्टामा चोट पटक लागेको छ । उनीहरुको अवस्था सामान्य रहेको र स्थानीय मेडिकलमा उपचार भएको प्रहरीले जनाएको छ ।
विद्यालय परिसरमा तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ४ सेल आश्रुग्यास प्रहार गरेको थियो । त्यस पछि तितर वितर भएका प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरीले सामान्य बल प्रयोग संगै थप २ सेल आश्रुग्यास प्रहार गरेको प्रहरी ननायब उपरिक्षक अधिकारीले बताए ।
विद्यार्थी बस्नेतको आईतवार बिहान शंकास्पद मृत्यु भएको थियो । खैरहनी ६ स्थित नेपाल आदर्श शिक्षा सदनको कक्षा कोठामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो । विद्यालयको होस्टलमा बसेर एसएलसीको तयारीमा रहेका बस्नेतको शव बिहान साढे ९ बजे कक्षा कोठामा च्यातिएको टिसर्टबाट घाटीमा बेरिएर झुण्डिएको अवस्थामा फेला परेको थियो । बस्नेतको हत्या गरी शव झुण्डयाईएको आरोप उनका अभिभावकले लगाएका छन् । उनका बुवा टेकबहादुर बस्नेतले छोराको हत्या गरेको किटानी जाहेरी दिए पछि प्रहरीले विद्यालयका पि्रन्सिपल विन्दु पौडेल र होस्टेल ईन्चार्ज सन्तोष पौडेललाई पक्राउ गरेको छ । ईकान्तिपुरमा समाचार छ ।