काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेलाई पुरानो भ्रष्टाचार कसुरसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं जिल्ला अदालतको आदेशमा प्रहरीले पाण्डेलाई मंगलबार साँझ उनको घरैबाट नियन्त्रणमा लिएको हो ।
तत्कालीन काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन लिमिटेडमा रहँदा ०३८ सालमा पाण्डेले भ्रष्टाचार गरेको भन्दै काठमाडौ जिल्ला अदालतले जेल सजाय र जरिवाना गर्न आदेश दिएको थियो ।
पाण्डेले केही समय कैद भुक्तान गरेपछि तत्कालीन राजा वीरेन्द्रको आदेशमा सजाय माफी गराइएको भन्दै एउटा पक्षले पुनः अदालतमा मुद्दा हालेको थियो । पाण्डे उक्त मुद्दामा थुनछेक नगर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालत गएकोमा गत भाद्रमा सर्वोच्चले उनको पक्षमा अन्तरिम आदेश दिएको थियो ।
तर, मंगलबार सर्वोच्चका कायम मुकायम प्रधान न्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजालसले पाण्डेको निवेदनमा अन्तरिम आदेश जारी गर्नुपर्ने कारण नभएको भन्दै रिट खारेज गरेपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।
उनलाई बुधबार अदालतमा उपस्थित गराइने बुझिएको छ । पाण्डे गत वर्ष चैत्र २८ गते नेपाल उद्योेग वाणिज्य महासंघको अध्यक्षमा निर्वाचित भएका थिए । इमेजखबरमा समाचार छ ।