संविधानसभा सदस्यका लागि बागलुङ क्षेत्र नं. १ मा भएको उपनिर्वाचनको नतिजा आज आउने

बागलुङ  – संविधानसभा सदस्यका लागि बागलुङ क्षेत्र नं. १ मा शनिवार  भएको उपनिर्वाचनको नतिजा आज आउने भएको छ । विद्युतीय मेसिनबाट भएको मतदानाको गणना आजहुने र परिणाम पनि आज नै आउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकृत टोलराज उपाध्यायले ७० मतदान केन्द्रबाट आज राति १२ बजेसम्म मतदान गरिएको विद्युतीय मेसिन संकलन गरिने बताए । उनले भने-‘भोलि मतगणना थाल्छौं । मतगणना सुरु भएको ४ घण्टामा परिणाम आउँछ ।’ एक नगरपालिका र १९ गाविसका ५२ हजार मतदाता मध्ये ३७ हजार मत खसेको प्रारम्भिक अनुमन गरिएको उपाध्यायले बताए । खसेको मत ७३ प्रतिशत रहेको छ ।
३५ स्थानको ७० मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको हो । विहान एक दुइ केन्द्रमा सामान्य तनाव भएकोले आधा घण्टा सम्म मतदान स्थगित भएको थियो । भकुण्डे, मालिका, ताराखोला लगायतका स्थानमा केही समय दलहरुका प्रतिनिधि विच तनाव भएको थियो ।
प्रजिअ शेषनारायण पौडेलले कडा सुरक्षा व्यवस्था रहेकाले निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको जानकारी दिए । जिल्लाबासीले पहिलो पटक विद्युतीय मेसिनमा मतदान गर्न पाएकोले हौसिएर मतदान केन्द्रमा आएका थिए ।
सभासद हरिबहादुर खड्काको सडक दुर्घटनामा निधन भएपछि भएको उपनिर्वाचनमा १० राजनीतिक दल र स्वतन्त्र १३ उमेदवारले भाग लिएका छन् । कान्तिपुरमा समाचार छ ।