दोलखामा प्रहरी सहायक निरीक्षकसहित ११ जनाको टोली पाँच दिनदेखि सम्पर्कविहीन भएपछि आज जिल्ला प्रहरी कार्यालय दोलखाले दैवी उद्धार समितिसँग खोजी गरिदिन आग्रह गरेको छ ।
चिलङ्खा र खोपाचागु गाविसका बीचमा रहेको साँवा बजारमा रहेको अस्थायी प्रहरीमा कार्यरत तिनको अवस्था अज्ञात रहेको हो । शनिबार बिहान ११ बजेसम्म नियमित सम्पर्क भएको त्यसपछि हालसम्म प्रहरी नै सम्पर्कमा नआएपछि सो क्षेत्रका अवस्थासमेत स्थानीय प्रशासनले बुझ्न नसकेको जनाइएको छ ।
चिलङ्खा, आलम्पु, बिगु खोपाचागु गाविसमा के भइरहेको छ, कति नागरिकको मृत्यु भयो या भएन, कति घर भूकम्पले क्षतिग्रस्त भयो भन्नेबारे आजसम्म स्थानीय प्रशासन बेखबर रहेको छ ।
प्रहरी नायब उपरीक्षक अजय केसीले आज बिहान सदरमुकाम चरिकोटबाट अवस्था खोजीका लागि प्रहरी टोली पठाइएको पत्रकार सम्मेलनमा जानकारी गराए। आज जिल्ला दैवी उद्धार समितिको टोली हेलिकप्टर आएपछि सो स्थानमा पुग्नेसमेत बताइएको छ ।
यता नागरिक समाज दोलखाले सम्पर्क नभएका गाविसमा तत्काल राहतसहित उद्धार टोली पुर्याउन माग गरेको छ । प्रजिअ प्रेमलाल लामिछानेले आजसम्म सम्पर्क नभएका गाविसका नागरिकको अवस्था सार्वजनिक गरिने वचनबद्धता जाहेर गरेका छन्। बत्ती र टेलिफोनको कारणले मात्र सम्पर्क नभएको लामिछानेले बताए। रासस