भूकम्पबाट नेपालमा करिब १ लाख २६ हजार गर्भवती महिला प्रभावित

काठमाडौं । एक साताअघि गएको विनाशकारी भूकम्पबाट नेपालमा करिब १ लाख २६ हजार गर्भवती महिला प्रभावित भएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए) ले अनुमान गरेको छ । यूएनएफपिएको अनुमान अनुसार झण्डै २० लाख प्रजनन् उमेरका किशोरी तथा महिला भूकम्पबाट प्रभावित भएका छन् ।
भूकम्प जस्ता प्राकृतिक प्रकोपहरुको समयमा महिला र किशोरीहरू सवैभन्दा बढी कमजोर जनसंख्यामा पर्छन् । यस्तो समयमा गर्भधारणसम्वद्ध मृत्यु र महिला हिंसा बढ्ने यूएनएफपिएले जनाएको छ । अधिकांश महिलाले अत्यावश्यक प्रजनन् स्वास्थ्य सेवा पाएका हुँदैनन् भने सुरक्षित सुत्केरी सेवा तथा जीवन रक्षाको हेरचाह सुविधा विना नै बच्चा जन्माएका हुन्छन् ।