जेरुसलममा विद्यमान तनाव कम गर्नका लागि इजरायल र जोर्डनबीच सम्झौता

इजरायलको जेरुसलममा विद्यमान तनाव कम गर्नका लागि इजरायल र जोर्डनबीच सम्झौता भएको छ ।
अमेरिकी विदेशमन्त्री जोन केरीका अनुसार जेरुसलमको पवित्रस्थलमा केही दिनदेखि भइरहेको तनावले उग्र रुप लिने सम्भावना बढेपछि दुई देश सम्झौता गर्न तयार भएका हुन् । 
जेरुसलममा रहेको यहुदीहरुको पवित्रस्थल टेम्पल माउन्ट र मुस्लिम समुदायको हरम अल शरीफका बिषयमा इजरायल र पेलेस्टाइनबीच गत महिनादेखि हिंसा जारी छ ।
जोर्डन भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री केरीको पहलमा भएको सम्झौताले इजरायल र पेलेस्टाइनबीचको बिग्रदै गएको सम्बन्ध केही मत्थर हुने संकेत देखिएको छ । पछिल्लो समय इजरायल र पेलेस्टाइनबीच भएको हिंसाका क्रममा हालसम्म ५० जना पेलेस्टाइनीको मृत्यु भइसकेको छ । (एजेन्सी)