अफगानिस्तानको कान्दाहार प्रान्तको एक विमानस्थलमा तालिवानले गरेको आक्रमणमा ४६ जना मारिएका छन् ।
दक्षिणी प्रान्त कान्दाहारको विमानस्थलमा विद्रोही संगठन तालिवान र सुरक्षाकर्मीबीचको झडपमा सुरक्षाकर्मी, आक्रमणकारी र सर्वसाधारण गरी ४६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । ज्यान गुमाउनेहरुमा धेरै बालबालिका रहेको बताइएको छ । यस्तै ९ जना विद्रोहीको पनि मृत्यु भएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ ।
तालिवान विद्रोहीले मंगलबार विमानस्थलमा धेरै मानिस बन्धक बनाएका थिए । त्यहाँ अफगान सेनाको मुख्यालय, नेटो सेनाको कार्यालय तथा अरु धेरै कार्यालय छन् । त्यसपछि २६ घण्टासम्म चलेको भिडन्तमा केही आक्रमणकारीलाई पक्राउ गरिएको सरकारी सेनाले जनाएको छ ।
तालिवानले गत सेप्टेम्बरमा पनि उत्तरी शहर कुन्दुजमा यस्तै आक्रमण गरेको थियो । (एजेन्सी)