संयुक्त राष्ट्रसंघले यस वर्ष विश्वभरबाट विस्थापित हुने शरणार्थीको संख्या ६ करोड नाघ्न सक्ने भन्दै विश्व नेताहरुलाई त्यसको व्यवस्थापनका लागि तयारी थाल्न भनेको छ ।
राष्ट्रसंघीय शरणार्थीसम्बन्धि उच्चायोग युएनएचसिआरले शरणार्थीको आश्रयका लागि ठूलो तयारी गर्न युरोपेली नेताहरुसँग आग्रह गरेको हो ।
युएनएचसिआरका प्रमुख एन्टोनियो गुतेरेशले शरणार्थीको पक्षमा अहिले भरहेका काम स्वागतयोग्य भएपनि पर्याप्त नरहेको टिप्पणी गरे । उनले ग्रिसमा शरणार्थीको आवेदन प्रक्रिया तीव्र पार्नु राम्रो भएपनि यसले मात्रै नपुग्ने बताए ।
यो वर्ष अहिलेसम्मकै धेरै मानिसले आफ्नो घर छाडेर विस्थापित भएको पनि उक्त संस्थाले जनाएको छ । मध्य पूर्व तथा गृहयुद्धबाट गुज्रिरहेका सिरियासहितका देशका नागरिक विस्थापित भएर युरोप गएका छन् । यस वर्षको अन्त्यसम्ममा १० लाख आप्रवासी युरोप पुग्ने अनुमान छ ।
सिरिया, यमन, लिबियासहितका देशमा जारी द्वन्द्व अन्त्य नभएसम्म विस्थापितको संख्या कम गर्न नसकिने भन्दै युएनएचसिआरले त्यस तर्फ ध्यान दिन विश्व नेतासँग आग्रह गरेको छ । (एजेन्सी)