आईएसले नियन्त्रणमा राखेको सिरियाको पूर्वी शहरका बासिन्दाका लागि राहत सामग्री पुग्यो

संयुक्त राष्ट्रसंघले इस्लामिक अतिवादी समूह ‘आईएस’का लडाकुले नियन्त्रणमा राखेको सिरियाको पूर्वी शहरका बासिन्दाका लागि राहत सामग्री पुर्‍याएको छ ।
दिर अल जोर शहरमा विमानबाट २१ टन मानवीय सहायता सामग्री खसालिएको राष्ट्रसंघका सहायता प्रमुख स्टेफन ओब्राएनले जनाए । राहत सामग्री लक्षित क्षेत्रमा पुगेको बारेमा सुरक्षा परिषदलाई जानकारी दिइसकिएको उनको भनाइ छ ।
दिर अल जोरको सरकार नियन्त्रित क्षेत्रमा राहत सामग्री पुगेको र अब यसलाई आईएसले घेराबन्दीमा पारेका नागरिकसम्म पुर्‍याइने उनको भनाइ छ । दिर अल जोरका दुई लाखभन्दा धेरै मानिस आईएसको घेराबन्दीमा रहेको र उनीहरु मानवीय संकटमा परेको राष्ट्रसंघले जनाएको छ । उनीहरु भोकमरीमा परेका थिए । गतहप्ता पनि खाद्यान्न र अरु सामग्री बोकेका लरी सिरियाका पाँचवटा शहरमा गएका थिए । (एजेन्सी)