कोलम्बियाको दुर्गम उत्तरी क्षेत्रबाट तीन जना पत्रकार वेपत्ता भएका छन् । कोलम्बियाको उत्तरी क्याटाटुम्बो क्षेत्रबाट केही दिन अघि स्पेसिन पत्रकार सालुद हर्नान्डेज वेपत्ता भएकी थिइन् ।
उनी हराएकोबारे समाचार खोज्न गएका कोलम्बिया टिभी नेटवर्क आर.सि.एन. का पत्रकार डिएगो डिपाब्लोस तथा क्यामरेम्यान कार्लोस मेलो पनि वेपत्ता भएका हुन् ।
आफ्ना दुई जना पत्रकार हराएको पुष्टि गर्दै आरसिएनका समाचार निर्देशकले उनीहरुको साथमा रहेको क्यामेरा, ल्यापटप लगायतका सबै सञ्चार उपकरण पनि गायब पारिएको बताएका छन् ।
उत्तरी कोलम्बियाको उक्त क्षेत्र संगठित अपराधको गढ मानिन्छ । त्यस क्षेत्रमा हुने गरेको लागु पदार्थ कारोबार र गैरकानुनी खेतीको समाचार सामग्री तयार पार्न गएको बेला स्पेसिन पत्रकार हर्नान्डेज वेपत्ता भएकी थिइन् ।
यही घटनाबारे रिपोर्टिङ गर्न गएका अन्य दुई पत्रकार समेत वेपत्ता भएपछि घटना झनै रहस्यमय बनेको छ । कोलम्बियाको कम्युनिष्ट विद्रोहीहरुको पकड रहेको उक्त क्षेत्रमा सरकारी उपस्थिती शुन्य बराबर छ ।
कोलम्बियाका राष्ट्रपति हुँवा म्यानुएल सान्तोसले घटनाबारे छानविन गर्न सेना तथा प्रहरीलाई निर्देशन दिएका छन् । (एजेन्सी)