सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा पहिलो पटक ब्याग उद्योग संचालनमा आएको छ ।
सन्धिखर्क नगरपालिका वडा नं १ शान्तिनगर ( शान्ती बगैचा नजिक ) मा न्युदेउराली ब्याग उद्योग संचालनमा आएको हो । अर्घा ९ हाल सन्धिखर्क १२ का रुक्मिणा पराजुलीले संचालन गरेको सो झोला उद्योगमा २ महिला र १ पुरुषलाई रोजगारी पाएका छन् ।
२ लाख ५० हजारबाट सुरु गरिएको उद्योगले अहिले राम्रो आम्दानी गर्न सकेको उहाको भनाई रहेको छ । आफुले सिन्धुली जिल्लामा गएर डेढमहिनाको तालिम लिई यो ब्यवसाय संचालन गरेको र जिबिस र नगरपालिकाले आर्थिक सहयोग पनि गरेको बताउनुभयो ।
पलास्टिक झोलाबाट वातावरण दुषित हुने र बारम्बार प्रयोग गर्न मिल्ने यो झोलाको बाहिर आ-आफ्नो व्यवसायको प्रचार प्रसार समेत हुने हुनाले आफुलाई झोला उत्पादन गर्न भ्याई नभ्याई छ । उहाले भन्नुभयो;- मैले सानो लगानीबाट आफ्नो परिबार राम्रोसंग पालनपोषण र शिक्षा-दीक्षा दिएकी छु ।
विभिन्न साइजका झोलाको मूल्य जिल्ला बाहिर भन्दा सस्तो, समयको बचत र जिल्लाको उत्पादनलाई पोत्साहन गर्ने मनसायले अत्यधिक अर्डर आएकोले अब डिजिटल मेशिन आबश्यक भएको र रु ७ लाख पर्ने मेसिन खरिद गर्न आफुसंग रकम नभएकोले सम्बन्धित संस्थाहरुले अनुदान दिएमा यस उद्योगको क्षमता बढाउन सकिने उनको भनाइ रहेको छ । उनले हाट बजार जाँदा वा अन्य प्रयोजनको निम्ति यो झोला प्रयोग गरि हाम्रो बातावरण स्वच्छ राख्न र स्थानीय उद्योगलाई पोत्साहन गर्न हुनुपर्नेमा जोड दिईन् ।