टर्कीको इस्तानबुलमा गराइएका दुई वटा बम विस्फोटमा कम्तिमा २९ जनाको मृत्यु भएको छ । घटनामा १ सय ६६ जना घाइते भएका छन् ।
पहिलो बम विस्फोट इस्तानबुलस्थित एक रंगशाला बाहिर गराइएको थियो । दंगा नियन्त्रित प्रहरीको बसलाई लक्षित गरी गराइएको कार बम विस्फोटमा थुप्रै सवारी साधनमा क्षति पुगेको छ ।
टर्कीका दुई वटा फुटबल टोलीबीच भएको खेल समाप्त भएको केही घण्टामै विस्फोट भएको बीबीसीले जनाएको छ ।
रंगशाला बाहिर भएको बम विस्फोटको केही बेरमै एउटा पार्कमा आत्मघाती विस्फोट गराइएको थियो ।
एक आत्मघातीले बमबाट आफैंलाई उडाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो घटनामा कम्तिमा १० जनाको मृत्यु भएको छ ।
घटनालगत्तै गोलीको आवाजसमेत सुनिएको बीबीसीले जनाएको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन । यद्यपि, घटना कुर्दिस विद्रोहीले गराएको हुनसक्ने आशंका गरिएको छ । (एजेन्सी)