पूर्व युवराज पारस शाह र युवराज्ञी हिमानी शाहकी छोरी पूर्णिका शाहले सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रमाणपत्र लिएकी छन्।
बिहान कागजात बोकेर सहयोगी सहित जिप्रका पुगेकी पूर्णिकालाई प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले सनाखत गर्न आमा वा बुवा आउनु पर्ने बताएका थिए। केहीबेरमा पूर्व युवराज्ञी आउनुभयो, दवाडीले भने, आमनागरिकले जस्तै प्रक्रिया पुर्याएर उहाँहरुले पनि नागरिकता लिएर जानुभयो।
पूर्णिकाको नागरिकतामा बाबु र आमा दुबैको नाम उल्लेख छ। आमा सनाखत गर्न मात्र आउनुभएको हो, आमाकै नाममा नागरिकता लिएको होइन, दवाडीले भने पूर्वराजपरिवारका सदस्य जिल्ला प्रशासन कार्यालयमै उपस्थित भएर नागरिकता लिएको यो सम्भवतः पहिलो पटक हो।
गणतन्त्र आएपछि पूर्वराजपरिवारका सदस्यले नागरिकता लिएका थिएनन्। राजतन्त्र हुँदा दरबारले नागरिकताका लागि चाहिने फाराम भरेर सहयोगीमार्फत् प्रशासन कार्यालयमा पठाइदिन्थ्यो। जारी भएको नागरिकताको प्रमाणपत्र पनि सहयोगी नै दरबार ल्याइदिने चलन थियो।सेतोपाटीले लेखेको छ ।