इन्डोनेसियामा शनिबार (आज) बिहान गएको पहिरोमा १७ जना पुरिएर बेपत्ता भएका इन्डोनेसियाली राष्ट्रिय विपत् व्यवस्थापन निकायले बताएको छ ।
पूर्वी जाभा क्षेत्रको पोनोरोगो जिल्लास्थित बानाराम गाउँमा गएको पहिरोले ३० घरमा क्षति पुर्याएको छ ।
पहिरोमा परी बेपत्ता भएका मानिसको संख्याका विषयमा परस्पर मेल नखाने सूचनाहरु बाहिर आएका छन् । यद्यपि घटनास्थलमा उपलब्ध स्रोतले घटनामा १७ जना बेपत्ता भएको जानकारी एएफपी समाचारदातालाई दिएको छ ।
घटनास्थलमा उद्धारका लागि स्थानीय विपद् व्यवस्थापन निकायसहित सेना, प्रहरी र स्थानीय स्वयम्सेवकको सहयोगमा पहिरोपछि पनि खतरामा रहेका केही स्थानीयलाई सुरक्षित स्थलमा सार्ने काम भइरहेको छ ।
इन्डोनेसियामा पहिरोका कारण बर्षेनि सयौं मानिसको ज्यान जाने गर्छ । पछिल्लोपटक गत फेब्रुअरीमा बालीमा गएको एक पहिरोमा परी तीन बालबालिका सहित १२ जनाको मृत्यु भएको थियो । त्यस्तै गत सेप्टेम्बरमा बाढी र पहिरोमा परी झन्डै तीसजनाको पश्चिमी जाभा क्षेत्रको गारुतमा ज्यान गएको थियो । रासस/एएफपी