प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँचीमा दर्ता भएका मुद्दाको एक तिहाइ सम्बन्ध बिच्छेदका मुद्दा रहेका छन् । गएका वर्षमा जस्तै सम्बन्धबिच्छेद गर्ने दम्पतीको संख्यामा यस वर्ष पनि बृद्धि भएको छ ।
०७३ सालको साउनदेखि ०७४ को असार २९ सम्ममा कुल २ सय ६९ मुद्दा दर्ता भएकोमा ९१ मुद्दा सम्बन्ध बिच्छेदका रहेको जिल्ला अदालतका न्यायाधीश केशव प्रसाद बास्तोलाले बताउनु भयो । यसवर्ष ९१ जोडीले सम्बन्ध बिच्छेदको लागि मुद्दा दर्ता गराएकोमा ८५ जोडीको सम्बन्ध बिच्छेद भएको र ८ मुद्दाको फैसला हुन बाँकी रहेको छ ।
सम्बन्ध बिच्छेद गर्नेमा सबैभन्दा धेरै २० देखि ३० वर्ष उमेरका छन् । जसमा झण्डै ८० प्रतिशत त्यही उमेर समूहका छन् । बाँकी २० प्रतिशत ३० वर्ष माथिका छन् ।
श्रीमान विदेशिएको समयमा श्रीमतीको बारेमा घर परिवार तथा श्रीमानले अनावश्यक शंका, उपशंका गर्नु जसका कारण घर परिवारमा मेलमिलाप नहुनु, दिनहु झगडा हुनु सम्बन्धबिच्छेदको प्रमुख कारण बन्न पुगेको हो ।
त्यसै गरि सूचना प्रविधिको बढी प्रयोग, समाजमा बढ्दै गएको खुल्ला यौन सम्बन्ध, छोरी छोराको चाहना बिपरित घर परिवारले विवाह गरिदिनु, आफूले चाहेको र आफूले माया गरेको मानिससँग विवाह गर्न परिवार तथा समाज बाधक बन्नु, घरपरिवार र श्रीमानले श्रीमती तथा बुहारीको ख्याल नगर्नु जस्ता कारणले पनि सम्बन्ध बिच्छेदका घटनामा बृद्धि भएको छ ।
वहुविवाह, पारिवारिक अनमेल, साना तिना झैझगडा लगायतका कारणले सम्बन्ध बिच्छेदका घटना भए पनि पछिल्लो समयमा वैदेशिक रोजगारीका कारण पनि सम्बन्ध बिच्छेद गर्नेको सख्या बढेको नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष केवी भुसालले बताउनु भयो ।
सम्बन्ध बिच्छेद पछि सबैभन्दा बढी मुद्दा अंश मुद्दा रहेको छ । अंशका ४३ मुधा दर्ता भएका मध्ये ३५ मुधा फर्छयौट भएका छन् । माना चामलो मुद्दा ३१ परेका छन् । सबै मुद्दा मध्ये ८५ प्रतिशत मुद्दा फैसला भएको जिल्ला अदालतका नायब सुब्बा टेकराज गैरेले बताउनु भयो । सबै गरि एक वर्षको समयमा २ सय ६९ मद्दद्धा परेकोमा २ सय २९ मुद्दा फैसला भएको छ ।
कुल ८५ प्रतिशत मुद्दा फैसला गरि मुद्दा फैसलामा अर्घाखाँची जिल्ला अदालत लुम्विनी अञ्चलमा पहिलो भएको जिल्ला न्यायाधीश केसब बास्तोलाले जानकारी दिनु भएको छ ।