प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आगामी मंसिर १० र मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी छनोटको पहिलो चरण अन्तर्गत स्वास्थ्य तथा शारिरिक परिक्षण प्रक्रिया सम्पन्न भएको छ । भोली मंगलवार बिहान ७ बजे देखि लिखित परिक्षा हुनेछ ।
आबदेन दिएका १ हजार ५ सय ८५ जनाको स्वास्थ्य तथा शारिरिक परिक्षण भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । हिजो आईताबार एक हजार जना र आज बाँकी ५८५ जनाको स्वास्थ्य तथा शारिरिक परिक्षण भएको थियो । ४ दिनको प्रक्रिया पश्चात म्यादी प्रहरी छनौंट हुनेछन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा म्यादी प्रहरी छनाेटको प्रहरी नायव उपरीक्षक एकनारायण काेईरालले अनुगमन गरेका थिए ।
सरकारले म्यादी प्रहरीलाई प्रहरी जवानसरह मासिक १७ हजार दुई सय ३० रुपैयाँका दरले ५५ दिनको पारिश्रमिक, रासन र स्थानीय भत्ता दिने भएको छ । यस्तै, निर्वाचनको वेला सात दिनका लागि दैनिक पाँच सय रुपैयाँ विशेष भत्ता र खानारखाजा खर्च उपलब्ध गराउने भएको छ । निर्वाचनका क्रममा कुनै म्यादी प्रहरी घाइते भएमा सरकारले उपचारका लागि नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक कार्यविधि २०६८ अनुसार बढीमा एक लाख ५० हजार रुपैयाँसम्मको उपचार खर्च दिने सरकारको निर्णय छ ।
यस्तै, निर्वाचनमा खटिनेक्रममा कुनै म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई १५ लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराइनेछ । सरकारले हरेक म्यादी प्रहरीलाई पोसाक भत्ताको रूपमा चार हजार र निर्वाचनमा खटिने ठाउँमा जाने र फर्कने बाटो खर्चको रूपमा थप एक हजार रुपैयाँ बाटोखर्चसमेत दिने पनि भएको छ ।
उता सरकारले ५५ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।