अर्घाखाँचीमा कडा सुरक्षाका साथ मध्यरातबाट मतगणना शुरु (भिडियो-तस्बिर सहित)
मंसिर २४ गते, २०७४ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सदरमुकाम सन्धिखर्कको टुडिखेल स्थित सभाहलमा कडा सुरक्षाका साथ शुरु भएको छ ।
अहिले प्रतिनिधी सभाको ३ स्थानका पाणिनी गाउँपालिका १ पणेना, छत्रदेव गाउँपालिका १चिदिका र मालारानी गाउँपालिका ९ गाेखुंगाका मतपेटिका गणना हुँदैछन् । आज साँझ ८ बजे बसेको सर्वदलिय बैठकको निर्णय अनुसार मध्यरात ११:४५ बजे देखि मतगणना शुरु गरिएको हो । मत गणना स्थललाई तारले घेरीएको छ, भने राजनैतिक दलका प्रतिनिधीहरुलाई तार बाहिर बाट हेर्ने तथा बस्ने व्यबस्था मिलाईएको छ । उक्त स्थलमा सुरक्षा व्यबस्था कडा पार्दै सीसी क्यामराबाट समेत निगरानी राखिएको छ ।
गत मंसिर २१ गते जिल्लाका ९२ वटा मतदान केन्द्र निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । तर सन्धिखर्क नगरपालिका वडा नम्बर ५ वाङ्ला मथुरा निम्न माध्यमिक विद्यालय नेटा मतदान स्थलका (क) र (ख) गरी दुईवटा मतदान केन्द्रको स्थगित भएको हुँदा आज मंसिर २३ गते शनिबार पुन: निर्वाचन गराइएको थियो ।
अर्घाखाँची जिल्लाका ९३ वटा मतदान केन्द्रमा सम्पन्न निर्वाचनमा कुल मतदाता संख्या १,३८,३२८ (७१,३५० महिला, ६६,९७८ पुरुष) मा ८९,१०६ मत खसेको छ ।