सिमलपानी, ठाडाका सामुदायिक वनमा काठ उत्पादन बढाउन वैज्ञानिक व्यवस्थापन

वीरेन्द्र केसी कान्तिपुर
सिमलपानी, अर्घाखाँची । कुनै बेला राष्ट्रिय वन अधिकांश नांगा थिए । सामुदायिक बनेपछि हरियाली छायो । समुदायलाई वनको जिम्मा दिएपछि संरक्षण र रेखदेख हुँदा काठ, दाउरा र घाँस बेचेर आम्दानीको स्रोत बढ्यो तर पनि व्यवस्थित मानिएन । निरन्तर हरियाली, छिटो नयाँ रूख उत्पादन र समुदायलाई बर्सेनि आम्दानी भइरहने उपाय खोजिँदै छ । त्यो हो, वैज्ञानिक वन व्यवस्थापन ।
जिल्लाको सिमलपानीस्थित पावरा र धिरीखोला सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन गरिएको दुई वर्ष भयो । आम्दानी तेब्बर, उपभोक्ता स्वरोजगार र नयाँ रूख संरक्षणले वनको स्वरूप नै फेरिएको छ । गाउँ समृद्धितर्फ उन्मुख छ । परीक्षण गरिएका दुई सामुदायिक वनका सबै उपभोक्ताले रोजगारी पाए । बाह्रै महिना वनमै काम भ्याइनभ्याइ हुन्छ । ‘वैज्ञानिक बन्नुअघि थोरै आम्दानी भएको थियो,’ धिरीखोला सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष सीमा गुरुङले भनिन्, ‘वैज्ञानिक व्यवस्थापन भएपछि वन व्यवस्थित पनि भएको छ । आम्दानी तेब्बरले भयो ।’ राष्ट्रिय वनलाई समुदायमा हस्तान्तरण गरे पनि उपभोक्ताले बिरुवा रोप्ने गर्छन् ।
ठूला रूख भएपछि काठको रूपमा बिक्री गरिन्छ । रूख कसरी हुर्के, बढेका छन् खासै मतलब हुँदैन । तर, वैज्ञानिक बनाइएपछि बाह्रै महिना समुदायको रेखदेख हुन्छ । काठ बन्दै गरेको रूख बांगाटिंगा, हाँगाबिँगा जताततै फैलिएका र झाडी–जंगल छ । त्यहीभित्र ढलेका र ढल्न आँटेका बूढा रूख, वयस्क, कलिला बिरुवा, लहरे रूख र घाँसले वनभित्र छिर्न नसक्ने अवस्था अहिले छ ।
‘वैज्ञानिकमा त्यस्तो हुँदैन,’ उनले भनिन्, ‘ढलेका र ढल्न लागेका पूरै हटाइन्छ । सफा र चिटिक्क पार्नुपर्छ ।’ काठ बन्न लागेकालाई जथाभावी हाँगा फैलिन दिइँदैन । सरलक्कका सीधा माथि मात्रै बढ्न दिइन्छ । वनमा मोटो र अग्लो रूख छ । त्यसमा त धेरै काठ होला भनेर ढाल्दा पूरै धोन्द्रो पो रहेछ, काठका रूपमा केको बिक्री हुनु, दाउरा मात्रै, सचिव ढोगबहादुर बुढाथोकीले भने । वैज्ञानिक भएपछि असारदेखि मंसिरसम्म गोडमेल गर्ने र पुसदेखि जेठसम्म पातपतिंगर हटाउने, अग्नि नियन्त्रण फायर लाइन बनाउने, बोटमा पात राखिदिने, अनावश्यक रूख ढाल्ने, काट्ने र बाहिर निर्यात गर्ने कामले सबै उपभोक्ता व्यस्त रहेको उनले बताए ।
अहिले वनभित्र सीधा ठूला रूख छन् । एउटै उमेर समूहका रूख हुर्काइएको छ । साल, असना, कर्मा मौवालगायत छन् । काठ बिक्रीबाट अघिल्लो वर्ष १ करोड १२ लाख आम्दानी भएको थियो । यो सबै काठ बेचेर आम्दानी भएको हो । ८० वर्षे कार्ययोजना बनाएर वैज्ञानिकको काम हुन्छ । दुई सय सात हेक्टर क्षेत्रफलमध्ये एक सय २६ मा वैज्ञानिक व्यवस्थापन गरिएको छ । हामी अब सबै वनलाई छिटै वैज्ञानिक बनाउँछौं, उनले भने । अहिले गाउँलेको आर्थिक स्थिति सुध्रेको र बस्ती बदलिएको उनले बताइन् । एक जनाले वर्षमा ४० देखि २ लाख रुपैयाँसम्म आम्दानी गर्छन् ।
पावरा सामुदायिक वनको १ सय ४० मध्ये १ सय एघार हेक्टर क्षेत्रफल वैज्ञानिक भइसकेको छ । सबै उपभोक्ता भुइँमा भएका पातपतिंगर र फोहोर सफा गर्न, रूखका बांगा हाँगा काट्न व्यस्त छन् । वैज्ञानिक बनाएपछि छिटो बिरुवा हुर्किने, संरक्षण हुने, रेखदेख नियमित र आम्दानी बढ्ने अध्यक्ष युगेन्द्रबहादुर रेग्मीले बताए । ‘पहिले खासै चासो थिएन,’ उनले भने, ‘वैज्ञानिक भएपछि काम धेरै हुँदोरहेछ, रोजगारी पनि । ८० वर्षे कार्ययोजनाअनुसार काम गर्दा सबैलाई रोजगारी दिएको छ ।’
वैज्ञानिक बनाएपछि बूढा रूख काट्ने, नयाँ रोप्ने, तीन वर्षसम्म गोडमेल गर्ने, चार वर्षदेखि दस वर्षसम्म पतल्याउने, त्यसपछि रूख पोलको अवस्थामा पुग्छ, त्यसपछि थिनिङ ८० वर्षसम्म निरन्तर चलिरहने पावरा इलाका वन प्रमुख जितेन्द्रसिंह खड्काले बताए । घाउचोट नलागेका पोलजस्तै गुणस्तरीय काठ उत्पादन गर्ने, नयाँ बिरुवा रोप्ने, हुर्काउने र पुराना काटेर आम्दानी लिन सजिलो हुने उनले बताए ।
दुई सामुदायिक वनमा परीक्षण सफल भएपछि जिल्ला वनले ३ सामुदायिक वनमा यसै वर्षदेखि वैज्ञानिक बनाउन सुरु गरेको छ । सिद्धाराको धौवामैला, प्रगतिशील र ठाडाको मजुरेडाँडा सामुदायिक वनमा वैज्ञानिक बनाउन थालिएको वन अधिकृत दीपक ज्ञवालीले बताए । ‘वनबाट धेरै आम्दानी लिने र उपभोक्तालाई धनी बनाउने एउटै उपाय वैज्ञानिक हो,’ उनले भने, ‘रोजगारी पनि हुने, वन संरक्षण र काठ उत्पादन छिटो हुन्छ ।’ धेरै वनमा वर्षौंदेखिका रूख छन् । ती सबै धोन्द्रा । काठ होइन दाउराका रूपमा मात्रै प्रयोग हुन्छन् । वैज्ञानिक नबनाउने हो भने ठूला रूख सुक्ने, ढल्ने र झाडी भएर साना रूख हुर्कनै नसक्ने अवस्थाले हरियाली वन फेरि नाङ्गो हुने भयो, ज्ञवालीले भने । जंगललाई हरेक वर्ष संरक्षण, नयाँ रूख छिटो बढेर काठ उत्पादन बढ्ने, रूखको संख्या वृद्धि हुने भएकाले वैज्ञानिक बनाउनुपर्ने उनले बताए । माग आइरहेको छ । बहुवर्षीय योजनाअनुसार अब सबैजसो वनलाई वैज्ञानिक व्यवस्थापन गरी सामुदायलाई अधिकतम फाइदा गराइन्छ, उनले भने ।