मालारानी गाउँपालिकाका जनप्रतिनिधिको सरकारी खर्चमा मस्ती

अर्घाखाँचीडट्कम संवाददाता 
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका प्रमुख बालकृष्ण शर्मा आचार्य  लगायत सबै ९  वार्डका जनप्रतिनिधि र कर्मचारी जिल्लाबाहिर जाँदा जनताको दैनिक काममा समस्या परेको छ । 
मालारानी गाउँपालिकाका सबै जनप्रतिनिधी जिल्ला देखि बाहिर पोखरा, लम्जुङ लगायतका ठाउँको अवलोकन भ्रमण जाँदा जनताको दैनिक काममा समस्या परेको हो ।
गाउँपालिकाको पाँच लाख बजेटबाट कार्यालयका कर्मचारीसहित दर्जनौ जनप्रतिनिधि र कर्मचारीको टोली भ्रमणमा निस्किएपछि  मालारानी गाउँपालिका लगायत सबै ९  वार्डको काम ठप्प भएको हो । कार्यालयका मुख्य कर्मचारी र पालिका प्रमुख, वार्ड जनप्रतिनिधि सहितको टोली  विभिन्न जिल्लामा भ्रमण गरिरहेका छन् । मंगलबार केही वार्ड कार्यालयमा दर्ता चलानीमा कर्मचारी नभएपछि सेवाग्राही फर्किएका थिए । 
मालारानी गाउँपालिकाकी उपप्रमुख प्रमिला क्षेत्री भने आफ्नो व्यक्तिगत कारणले अवलोकन भ्रमण गएकी छैनन् । मालारानी गाउँपालिकाका प्रमुख बालकृष्ण आचार्यका  अनुसार स्थानीय तहमा रहेका विभिन्न खनिज तथा जडीबुटीको प्रयोग र व्यवस्थापन, स्थानीय स्रोतको संरक्षण र प्रयोग, महिला समूहहरूको सीप विकास, महिलाको रोजगार व्यवस्थालगायत विभिन्न उद्देश्य लिएर जनप्रतिनिधि भ्रमणमा निस्केका हुन् । विकसित स्थानीय तहबाट सिकेर आफ्नो तहमा कार्यान्वयन गर्नका लागि भ्रमण गरेका हौं, आचार्यले अर्घाखाँचीडट्कमलाई भने ।   
 गाउँपालिकाको लाखौं बजेट सक्न कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा टोली भ्रमणमा निस्किएपछि सामाजिक सन्जालमा व्यापक आलोचना भएको देखिन्छ ।   भ्रमणकै नाममा स्थानीय तहका अधिकांश जनप्रतिनिधि र कर्मचारी जिल्लाबाहिर जाँदा जनताको दैनिक काममा समस्या परेको भन्दै स्थानियबासीले जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायको ध्यानआकर्षण गरेका छन् ।