भेनेजुएलाबाट गैरकानुनी आप्रवासी रोक्न ब्राजिलमा सैन्य शक्ति परिचालन

news
भेनेजुएलाबाट गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने आप्रवासीलाई रोक लगाउने क्रममा भड्किएको हिंसा नियन्त्रण गर्न ब्राजिलले सैन्य शक्ति परिचालन गरेको छ ।
राजनीतिक तथा आर्थिक संकट चुलिएपछि भेनेजुएलाका लाखौं नागरिक विस्थापित हुन थालेका छन् ।
उनीहरु कोलम्बिया हुँदै छिमेकी मुलुक प्रवेश गर्ने क्रम बढेपछि ब्राजिलले आप्रवासीलाई रोक लगाएको हो ।
भेनेजुएलाबाट सीमा क्षेत्रमा पुगेका आप्रवासीले हिंसा मच्याएपछि ब्राजिलले सैन्य बल प्रयोग गरेको स्पष्ट पारेको छ ।
ब्राजिलले आप्रवासीलाई प्रवेश खुल्ला गर्न आवश्यक पूर्वाधार आफूसँग तयार नभएको भन्दै आप्रवासीलाई रोक लगाएको हो ।
ईक्वेडर, पेरुलगाएतले पनि प्रवेशका लागि राहदानी अनिवार्य गर्ने जनाएपछि समस्या बढ्ने संकेत देखिएको हो ।
सन् १९७० ताका विश्वकै २० धनी राष्ट्रमध्ये एक मानिने दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको अहिलेको अवस्था निकै दयनीय छ ।
त्यहाँका ९० प्रतिशत भन्दा बढी नागरिक गरिबीको रेखामुनि छन् । पछिल्लो एक अध्ययनका अनुसार केही वर्षमा पोषण अभाव उच्च विन्दुमा पुगेको छ ।
भेनेजुएलामा खाद्यान्न, पानी र औषधिको समेत अभाव छ ।
महंगी हजारौं गुणाले बढेर धान्न नसकिने भएपछि त्यहाँको केन्द्रीय बैंकले सन् २०१५ यताको तथ्यांक नै सार्वजनिक गर्न छाडेको छ ।(एजेन्सी)