अर्घाखाँचीमा टुटेको परिवार जोड्दै न्यायिक समिती

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ।  सन्धिखर्क नगरपालिका–९ का कोषबहादुर राउत र शारदा राउतबीच सात वर्षअघिदेखि वैवाहिकसम्बन्ध बिग्रिएको थियो । १५ वर्षअघि सामाजिक परम्पराअनुसार विवाह गरेका यो जोडीको सम्बन्ध ७ वर्षदेखि तनावपुर्ण थियो । 
परिवारलाई एक बनाउन गाउँका भलाद्मी र प्रहरीले पटक पटक प्रयास गरे पनि सम्भव भएको थिएन । सम्बन्धविच्छेदको अवस्थामा पुगेको उनीहरूको सम्बन्ध स्थानीय न्यायिक समितीले जोडिदिएपछि परिवारमा खुसी छाएको छ ।
सम्बन्धसुधार भएकोमा दुबैजना खुसी छन् । न्यायिक निकायमा हुने खर्चिलो र झन्झटिलो ब्यवस्थालाई सरलीकृत गर्दै सरकारले अबलम्बन गरेको न्यायिक समितिको काम कर्तव्य र क्षेत्राधिकारले जनताले राहत पाएका छन् । बिग्रिएको सम्बन्ध सुधार्न सहयोग गरेकोमा आफुहरू खुसी भएको कोशबहादुरले बताए । ११ वर्षकी छोरी र ६ वर्षका छोरा भएका यी दम्पत्तिको सम्बन्ध सुध्रिएपछि परिवार र सन्ततीको मुहारमा खुशी आएको समाजसेवी रामबहादुर रायमाझीले बताए । 
सन्धिखर्क नगरपालिकामा विकास निर्माणका समयमा उत्पन्न विवाद, लेनदेन, सम्बन्धविच्छेदकाका साथै देवानी तथा फौजदारी मुद्दा परेको सदस्यसचिव कृष्ण वर्माले बताए ।