ललितपुरको नख्खु बम विस्फोटबाट घाइते भएकाको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने

news
गृहमन्त्री रामबहादुर थापाले बम विस्फोटबाट घाइते भएकाको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने बताएका छन् ।
बम विस्फोटबाट घाइते भएका व्यक्तिको उपचार भइरहेको भैंसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेर शनिबार उनले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकसँग आग्रह गरे ।
सो अवसरमा गृहमन्त्री थापाले विस्फोटको घटना निकै दुःखद् भएको उल्लेख गर्दै घटनामा संलग्न दोषीलाई नियन्त्रणमा लिइ कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने–‘विस्फोटका घटना देशव्यापीरुपमा घटाइएको छ । दोषीलाई कानुनको कठघरामा ल्याउँछौं । आपराधिक घटना नियन्त्रणमा सरकारले कठोर कदम उठाउँछ ।’
विस्फोटमा परी मृत्यु भएका व्यक्तिप्रति समवेदना प्रकट गर्दै उनले मृतकका परिवारलाई सरकारका तर्फबाट उचित क्षतिपूर्ति उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।
ललितपुरको नख्खुस्थित एनसेलको टावरअगाडि अज्ञात समूहले शुक्रबार साँझ बम विस्फोट गराउँदा तीनजना घाइते भएका थिए ।
विस्फोटमा परी प्रतीक्षा खड्का, आयुषा मानन्धर र सिंहप्रसाद गुरुङ घाइते भएका थिए । घाइतेमध्ये गुरुङको उपचारकाक्रममा शुक्रबार राति निधन भएको थियो ।
विस्फोटका घाइते भेट्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत अस्पताल पुगेका थिए ।
सो अवसरमा घाइतेका आफन्तले दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग आग्रह गरेका थिए । रासस