पश्चिमी वायुको प्रभावले बिहीबार देशभर मौसम बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाकोे सम्भावना रहेको छ ।
मंगलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागको एक/दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीले बताए ।
उनकाअनुसार यसको प्रभाव बिहीबार रातिसम्म कायम रहनेछ ।
बिहीबार बेलुकादेखि फेरि नयाँ प्रणालीको विकास भइ पश्चिमी भू–भागको केही स्थानमा मौसम प्रभावित हुनेछ ।
पहाडी भेगबाहेक अन्य क्षेत्रमा भने तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् सुवेदीले औंल्याए ।
शुक्रबार देशको पश्चिमी भू–भागमा सामान्यतया मौसम बदली रही उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, शनिबार बिहानीपख देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।
अपराह्नपछि भने देशको पश्चिमी र मध्य भू–भागमा सामान्य बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम १२.२ डिग्री र अधिकतम् तापक्रम २९.० डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै, सबैभन्दा धेरै विराटनगरको अधिकतम् तापक्रम ३२.५ डिग्री सेल्सियस रहेको छ । रासस