नेपाली भूमीमा सडक निर्माण गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले हस्तक्षेप गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिकै सडक निर्माण गरिरहेका बेला विवादित क्षेत्र भएको भन्दै एसएसबीका जवानले काम गर्न अवरुद्ध गरेका हुन् ।
गत साउनमा भीमदत्त नगरपालिकाअन्तर्गतको क्षेत्रमा एकलौटी ढंगले सडक निर्माण गर्न खोजेको भारतले अहिले नेपाली पक्षलाई आफ्नै भूमीमा सडक निर्माण गर्न रोकेको छ ।
भारतीय सीमा सुरक्षा बलका जवानले सो क्षेत्र विवादित रहेको भन्दै सर्भे टोलीले नक्सांकनको काम नगरुञ्जेल सडक निर्माण नगर्न आग्रह गरेका छन् ।
यसअघि नेपाली भूमीसम्म भारतले सडक निर्माण गर्न खोजेपछि स्थानीयले विरोध जनाएपछि दुवै पक्षका उच्च अधिकारीबीच आ–आफ्नो भूमिमा पर्ने सडक आफैं निर्माण गर्ने मौखिक सहमति भएको थियो ।
सोही सहमति अनुसार नेपालतर्फको १ सय ५० मिटर सडक कालोपत्रे गर्नका लागि भीमदत्त नगरपालिकाले न्यूजोशी कन्ट्रक्शनलाई जिम्मेवारी दिइसकेको छ । तर सडक निर्माण गर्न भारतीय सीमा सुरक्षा बलले नदिएको भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथको भनाइ छ ।
टनकपुर बाँध निर्माणकै बेला ३ नम्बर सीमा स्तम्भ हराएपछि स्थानीयले त्यसकै आसपासमा रहेको सिंढीलाई सीमास्तम्भ मान्दै आएका छन् ।
अर्कोतिर सरकारले पनि हराएका सीमा स्तम्भका बारेमा चासो नदिएको उनीहरुको गुनासो छ ।
अर्कोतिर नेपाललाई विवादित क्षेत्र भनेर काममा अवरोध गरेको भारतीय पक्षले आफूहरुले भने सोही क्षेत्रमै विभिन्न गतिविधि गर्दै आइरहेका छन् ।
गत माघमा कञ्चनपुरकै डोकेबजारमा एकलौटी रुपमा ट्रेन्ज खनेको भारतले अहिले अन्तर्राष्ट्रियस्तरको जैविक मार्ग बन्द हुने गरी तारबार लगाउने काम गरेको छ ।
यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य भने सीमामा दुवै देशका सर्भे टोलीले काम गरिरहेको बताउँछन् ।
सन् १९९६ को केन्द्रिय सहमति भएको बताउदै भारतीय पक्षले टनकपुर ब्यारेजदेखि ब्रम्हदेब बजारसम्म आफ्ना भूमी दावी गर्ने गरेको छ । इमेजखबरमा समाचार छ ।