श्रीलंकाको राजधानी कोलम्बोमा विस्फोटको शृंखला नरोकिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
ईस्टरको अवसर पारेर होटल तथा चर्चलाई निशाना बनाइ लगातार विस्फोट हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो ।
विस्फोटमा १८५ जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ । विस्फोट कसले गराएको हो भन्ने प्रष्ट हुन सकेको छैन ।
समाचार एजेन्सीहरुका अनुसार तीन चर्च र तीनवटा पाँचतारे होटलमा विस्फोट भएको छ । नेशनल हस्पिटलमा ४६ जनाको शव राखिएको बताइएको छ । त्यस्तै नेगोम्बो हस्पिटलमा ७४, कटना चर्चमा ३१, रगमा हस्पिटलमा ७ र बट्टिकालोआमा २७ जनाको मृत्यु भएको बताइएको छ । (एजेन्सी)
श्रीलंकामा गराइएको बम विष्फोटमा मारिनेको संख्या एक सय ३८ पुगेको छ । राजधानी कोलम्बोमा गराइएका श्रृंखलाबद्ध बम विस्फोटमा कम्तिमा १ सय ३८ जना मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
श्रीलंकास्थित केही अनलाइन पत्रिकाहरुले भने मर्नेको संख्या १६० पुगेको दावी गरेका छन् । दुई सय जनाभन्दा बढी घाईते भएका छन् । तीन वटा चर्च र तीन वटा होटलमा श्रृंखलाबद्ध विस्फोट गराइएको हो । मारिनेमा विदेशी पर्यटक पनि छन् ।
कोच्चिकाडे, बट्टिकलोआ र कटुवापिटिया जिल्लास्थित गिर्जाघरमा विस्फोट गराइएको हो । घाईतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भैरहेको छ ।
मध्य कोलम्बोस्थित सांग्रिला, सिनमन ग्राण्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोट गराइएको बताइएको छ । विस्फोटका समयमा इशाई धर्मावलम्बीहरू इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुँदै थिए ।
विस्फोटको जिम्मा कसैले पनि लिएको छैन । यता श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले जनतालाई शान्त रहन र अनुसन्धानमा सहयोग गर्न आह्वान गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विश्वभरका नेताहरुले यस आततायी घटनाको निन्दा र भत्र्सना गरेका छन् । एजेन्सी