कास्की क्षेत्र नम्बर–२ मा आगामी मंसिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनमा अब २१ उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रतिनिधिसभा सदस्यका लागि कात्तिक २१ गते २२ जनाले मनोनयन दर्ता गरेका थिए ।
स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयका महेन्द्र सुवेदीले जानकारी गराए ।
निर्वाचन अधिकृतको कार्यालयले आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ ।
सोअनुरुप कास्कीमा १० स्वतन्त्रसहित ११ राजनीतिक पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा छन् ।
नेपाल कम्युस्टि पार्टी (नेकपा)बाट विद्या भट्टराई, नेपाली कांग्रेसबाट खेमराज पौडेल, नेपाली कांग्रेस (बीपी) बाट चन्द्रबहादुर रानाभाट, नेपाल कम्युनिस्ट पार्टी (माले)बाट टेकनाथ भण्डारी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङ छन् ।
त्यस्तै, साझा पार्टीबाट रजनी केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, राष्टिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, देशभक्त समाज पार्टीबाट वीरबहादुर विश्वकर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट श्रीमती गंगा मल्ल छन् ।
यस्तै, स्वतन्त्ररूपमा चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूमा उमानाथ गौतम, कमलजंग कुँवर, जमुना शर्मा, दीपक रेग्मी र नवराज बाँस्तोला छन् ।
त्यस्तै, अन्य स्वतन्त्र उम्मेदवारमा यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला र सुनील भुषाल छन् । रासस