उपनिर्वाचन २०७६ – पर्सामा त्रिपक्षीय उम्मेदवारको भिडन्त

news
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजरलाई ध्यानमा राखी पर्साको सखुवाप्रसौनी-५ मा हुने अध्यक्ष पदको उपनिर्वाचनमा पाँच जना उम्मेदवारले उम्मेदवारी दिए पनि सत्तारुढ दल नेकपा, सत्ता साझेदारी दल समाजवादी पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवारबीच त्रिपक्षीय भिडन्त हुने भएको छ ।
वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका सबै दलले निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार कमिटी र टोल कमिटी गठन गरी चुनावी गतिविधिलाई अगाडि बढाएको स्थानीय कन्हैयाप्रसाद साहले बताए ।
टोलटोलमा बिहानदेखि राति अबेरसम्म उम्मेदवारले मतदातालाई आफूतिर तान्न विभिन्न उम्मेदरवारले भेला, बैठक, छलफललगायतका कार्यक्रम गरिरहेका छन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा समाजवादी पार्टीबाट निर्वाचित भएका वडा अध्यक्ष बृजमोहन राय यादवको मृत्युपश्चात् सखुवाप्रसौनी गाउँपालिका–५ को वडाध्यक्षको उपनिर्वाचन हुन लागेको छ ।
सो उपनिर्वाचनमा आफ्नो पुरानो विरासत जोगाउन समाजवादी पार्टीले रुपलाल यादवलाई वडाध्यक्षको उम्मेदवारका रुपमा अघि सारेको छ भने सतारुढ दल नेकपाले उदयशङ्करप्रसाद रौनियार, मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले अशेस्वरप्रसाद यादव, राप्रपाले सदरी महरा रामलाई अघि सारेको छ भने गोपालप्रसाद कानून स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दिएका छन् ।
केही दलबीच खासगरी नेकपा, नेपाली कांग्रेस र समाजवादी पार्टीको उम्मेदवारबीचमा त्रिकोणात्मक तथा कडा प्रतिस्पर्धा हुने भएको स्थानीय जैकी रौनियारको भनाइ छ ।
सो गाउँपालिकामा समाजवादी पार्टीका अध्यक्ष प्रदीप जैसवाल रहेकाले पनि समाजवादी पार्टीका लागि यो चुनाव जित्न प्रतिष्ठाको विषय बनेको छ भने अर्कोतिर मृतक वडाध्यक्ष समाजवादी पार्टीकै भएकाले उनका लागि जीतलाई प्रतिष्ठाका रुपमा हेरिएको छ ।
उपनिर्वाचनमा हुने साम, दाम दण्ड र भेदमा उत्रिन सक्ने सम्भावना बढी रहेकाले पनि उम्मेदवारबीच हुने प्रतिस्पर्धा निर्वाचन आचारसंहिताविपरीत हुने सम्भावना बढी भएकाले यसप्रति निर्वाचन आयोग सचेत र सजग हुनुपर्ने स्थानीय नगिनाप्रसाद यादवको भनाइ छ । (रासस)