सुदूरपश्चिम प्रदेशमा अझै आठ प्रतिशत बालबालिकाले पूर्ण खोप पाएनन्

news
सुदूरपश्चिम प्रदेशमा नौ महिनादेखि पाँच वर्षमुनिका करिव दुई लाख ८४ हजार ७ सय ६२ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने भएको छ ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले दिएको जानकारीअनुसार यसका लागि आगामी चैत १ गतेदेखि ३० गतेसम्म प्रदेशका नौ वटै जिल्लामा  खोप अभियान सञ्चालनमा हुने छन् ।
अभियानमा पाँच हजार २ सय  खोप केन्द्र र नौ हजार ३ सय स्वयंसेवकसमेत परिचालन गरिने जनाइएको छ । अभियान अन्तर्गत डोटीमा करिव २४ हजार ५ सय ५० बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए ।
अगामी चैत १ गतेदेखि पहिलो चरणमा जिल्लाका वोगटान फुड्सिल, जोरायल, बडिकेदार र केआइसिंह गाउँपालिकामा सञ्चालन गरिने छ । त्यस्तै  चैत १६ देखि दोस्रो चरणअन्तर्गत दिपायल सिलगढी, शिखर नगरपालिका , पूर्वीचौकी, आदर्श  र सायल गाउँपालिकाका बालबालिकालाई खोप लगाइने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो ।
उनले भने, “बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप दुई चरणमा लगाउने योजना बनाएका छौँ, हाम्रो अभियानमा सबै स्थानीय तहले साथ र सहयोग गर्न जरुरी छ ।”
कूल ५ सय ११ खोप केन्द्र, १ सय २६ स्वास्थ्यकर्मी  र एक हजार २२ स्वयंसेवक परिचालन गरिने जनाइएको छ । ढुक्क साथ आफ्ना बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन  जिल्ला अस्पताल डोटीका डा ज्योति पाण्डेले आग्रह गरे । जिल्लामा आठ प्रतिशत बालबालिका पूर्ण खोपबाट बञ्चित रहेकोे  कार्यालयको तथ्याङ्कमा रहेको छ ।
स्वास्थ्य कार्यालयका अध्यक्ष यज्ञराज जोशीले भने, “दादुरा–रुवेलाविरुद्धको खोप लगाउन कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले यहाँका स्थानीय तहसँगको सहकार्यमा खोप अभियान सञ्चालन हुँदैछ । यसमा सहयोग गर्न म सबैमा आह्वान गर्छु । ” रासस