अर्घाखाँचीडट्कम संवाददाता
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका दुई वटा क्वारेण्टाइनमा रहेका ४ जनाको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) टेस्ट नेगटिभ आएको छ ।
मालारानी गाउँपालिकाका कालिका ने.रा मावी क्वारेण्टाइनका २ जना पुरुष र आदर्श मावी क्वारेण्टाइनमा रहेका २ जना पुरुष गरी ४ जनाको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) टेस्ट नेगटिभ आएको हो ।
नेगटिभ आएका ४ जनालाई थप एक हप्ता घरमा सेल्फ क्वारेण्टाइनमा बस्ने गरी घरमा पठाएको मालारानी गाउँपालिकाकाले अर्घाखाँचीडट्कमलाई जानकारी दिएको छ ।
यसघि अर्घाखाँची जिल्लाभरका क्वारेण्टाइनमा रहेका २१ जनाको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) बाट नतिजा नेगेटिभ आएको थियो । सन्धिखर्क नगरपालिका वार्ड नम्वर १ को युवा वर्ष रविचित्र माध्यमिक विद्यालयको क्वारेण्टाइनमा रहेका ११ जना र सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ मा रहेको अर्घाखाँची आबशीय माध्यमिक विद्यालय बेलबाटिकामा रहेका १ जनाको आरडीटी टेस्ट नेगेटिभ आएको थियो ।
यस्तै भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ को विश्व मावि क्वारेण्टाइनमा रहेका ३ जना र भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ को देउराली मावि राजिमी क्यारेन्टाइनमा ३ जना, भुमिकास्थान नगरपालिका वार्ड नम्बर ८ को यशोधारा आधारभुत विद्यालयको क्यारेन्टाइनमा रहेका १ जनाको पनि आरडिटी टेस्ट नेगेटिभ आएको थियो ।
कोरोना भाइरस अर्थात (कोभिड १९) को परीक्षण गर्न अर्घाखाँची जिल्लामा पनि तीव्र परीक्षण (र्यापिड टेस्ट) शुरु भएको छ।
प्रदेश सरकार मार्फत ६० थान तीव्र परीक्षण (र्यापिड टेस्ट) जिल्लामा आएका थिए ।
उता मालारानी गाउँपालिकाको राहत कोषमा अहिलेसम्म ६ लाख १४ हजार ८ सय २० रुपैया जम्मा भएको छ ।
मालारानी गाउँपालिकाको राहत कोषमा विभिन्न व्यक्ति, संघ- संस्थाबाट अहिलेसम्म ६ लाख १४ हजार ८ सय २० रुपैया जम्मा भएको हो । यस्तै मालारानी गाउँपालिकामा अहिलेसम्म १२९ परिवारलाई २० किलोको दरले राहत वितरण गरेको छ ।
यस्तै मालारानी गाउँपालिकाले अर्घाखाँचीडट्कमलाई बताए अनुसार यहाँ हाल १० जना क्वारेन्टाइनमा रहेका छन् ।
साथै अहिलेसम्म ४२४ जनाको श्वास प्रस्वास सम्वन्धी (एआरआई) स्वास्थ्य जाँच भएको छ ।
यस्तै मालारानी गाउँपालिकामा भारत लगायत विदेशबाट अहिलेसम्म आउनेको संख्या २८३ पुगेको छ ।
मालारानीमा अहिलेसम्म १३ ठाउँमा क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा अहिलेसम्म १४४ बेडको क्षमता रहेको छ ।