आइतबार बेलुका पनि चार सय मजदुरलाई उपत्यकाबाट स्थायी बासस्थान रहेको जिल्ला पठाइएको छ।
कोरोना भाइरसको संक्रमणका लागि लक डाउन लम्बिरहँदा घर फर्किन सडकमा पैदल हिँडिरहेका मजदुरलाई सरकारकै पहलमा जिल्ला जिल्लामा पठाइएको हो। आइतबार बेलुका ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनको सक्रियतामा भक्तपुर र ललितपुरमा अलपत्र परेका चार सय कामदारलाई बसबाट घर पठाइएको हो।
सडकमा अलपत्र परेकाहरुलाई ९ वटा बसमा राखेर अलपत्र परेका मानिसहरुलाई सम्बन्धित जिल्ला पठाइएको मन्त्री पुनले जानकारी दिए। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार त्यसरी पठाइएकामा रोल्पा, दाङ र सल्यानका मजदुर छन्।
उनीहरु काभ्रेका विभिन्न स्थानबाट आएकामा प्रहरीले शंखरापुरमा रोकेको थियो। त्यसबारे खबर पाएलगत्तै मन्त्री पुन आफैं त्यहाँ पुगेका थिए । बाहिरबाट आएकालाई ६ वटा बसमा, भक्तपुरका विभिन्न इँटाभट्टामा कार्यरत मजदुरलाई दुईवटा र ललितपुरमा रहेकालाई एउटा बसमा राखेर घर पठाइएको हो।
यस्तै आइतबार बिहान थानकोटमा रोकिएका दुई सयभन्दा बढी मजदुर र अरनिको राजमार्ग छेउछाउमा रहेका मजदुरलाई भक्तपुरका सांसद महेश बस्नेतको सक्रियातमा बिपी राजमार्ग हुँदै जिल्ला पठाइएको थियो।
लामो लकडाउनका कारण रोजगारी गुमाउनु परेको र छाक टार्र्नै समस्या भएपछि मजदुरहरु सयौं किलोमिटर हिँडेर घर जान तम्सिरहेका छन्। देशसन्चारमा समाचार छ ।