लकडाउन भएको एक महिना नाघिसक्यो। अत्यावश्यक बाहेकका सबै सरकारी, निजी कार्यालय, उद्योग सबै बन्द छन्।
यसरी इतिहासमै कहिल्यै नभएको लामो समय लकडाउन हुँदा के गर्ने? कतिले घरबाटै काम गरेका छन्। कतिको काम घरबाट गर्न मिल्ने पनि छैन। यस्तो अवस्थामा के हुन्छ? काम नगरेको बेलाको तलबभत्ता पाउने कि नपाउने? निजी उद्योग व्यवसायहरुले यसबारे आ-आफ्नै हिसाबले योजना बनाइरहेका छन्। सरकारी कर्मचारीहरुको हकमा के हुने भन्ने निर्णय चाहिँ आज राजपत्रमा प्रकाशित भएको छ।
गृह मन्त्रालयको यो सूचना अनुसार लकडाउन अवधिभरलाई सार्वजनिक विदा कायम गरिनेछ। अर्थात् नियमित रुपमा आउने तलब र भत्ता कायमै हुने गरी तलबी विदा।
नेपालमा लकडाउन चैत ११ गते बिहान ६ बजेदेखि सुरु भएको हो। अर्को पटक म्याद थप नभएमा यो वैशाख २५ गतेसम्म अर्थात् ४५ दिनसम्म कायम हुनेछ। लगातार ४५ दिनसम्म सार्वजनिक विदा इतिहासमै कहिल्यै नभएको अवधि हो। तर कोरोनाले यस्तो दिन पनि देखाइदियो।
– माईसंसार