अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा कृषि एम्बुलेन्स संचालन गरिएको छ ।
लकडाउनका कारण बजार नपाएका कृषकको उत्पादनले बजार नपाएको र उपभोक्ताले सामान नपाएको अवस्थाको अन्त्य गर्न सन्धिखर्कमा कृषि एम्बुलेन्स सेवा सञ्चालन गरिएको हो । एम्बुलेन्स सेवामार्फत किसानको घरबाट तरकारी संकलन गरी सन्धिखर्कमा ल्याएर बिक्री गर्न सुरु गरिएको छ ।
राजेन्द्र जिसीले अर्घाखाँचीडट्कमलाई जनाए अनुसार लामो लकडाउनका कारण मुख्यतः बजार क्षेत्र भित्र दैनिक उपभोग्य बस्तु तरकारीको अभाव श्रृजना हुँदै जाने र उता किसानहरुको तरकारी बारीमै कुहिने संभावना बढ्दै गइरहेको सन्दर्भमा किसानहरुको उत्पादनलाई उपभोक्ता माझ पुर्याउने हेतुले सन्धिखर्क नगर क्षेत्र भित्र कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याईएको छ। किसानहरुले आफै निर्धारण गरेको न्युनतम मुल्यमा आफ्नो ताजा उत्पादन बेच्न पाउने छन् ।
निसर्तरुपमा सञ्चालनमा ल्याईएको कृषि एम्बुलेन्स सेवाको समग्र संयोजन समाजसेवी व्यक्तित्व श्रीकृष्ण भुसालले गर्नु भएको छ भने गाडी सौजन्य नयाँ नेपाल एग्रोभेटले गरेको छ। किसानलाई कुनै किसिमको गाडिभाडा लाग्ने छैन।
किसानको उत्पादन सहज रूपमा उपभोक्तामाझ पुगोस् भन्ने उद्देश्यले यो कार्यको थालनी गरेको जिसीले बताए ।