पाँच महिनापछि चीनको वुहानमा खुल्यो विद्यालय, विद्यार्थी खुशी

कोरोना भाइरसको उद्गम स्थल मानिएको चीनको वुहान शहरमा बुधबारदेखि विद्यालयहरु सञ्चालनमा आएका छन् ।
महामारी नियन्त्रणमा आएपछि जनजीवन सामान्य बन्दै गएपछि वुहानमा विद्यालयहरु खुलाइएको हो । गत डिसेम्बरमा कोरोना भाइरसको संक्रमण देखिएपछि जनवरीदेखि स्कूलहरु बन्द गराइएका थिए ।
झण्डै पाँच महिनापछि वुहानका बालबालिका विद्यालय जान पाएका हुन् । पाँच महिनापछि विद्यालय जान पाउँदा विद्यार्थी निकै खुशी देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
वुहानका झण्डै ५७ हजार विद्यार्थी स्कूल फर्किएको चीनको सरकारी समाचार संस्थाले जनाएको छ । वुहानका १२१ विद्यालय खुलेका हुन् ।
कक्षा कोठामा ३० जनाभन्दा बढी विद्यार्थी नराख्ने र डेढ मिटरको दूरी कायम गरी डेस्कको व्यवस्था गरिएको जनाइएको छ । एजेन्सी