पाकिस्तानको भ्रमणमा रहनुभएका अफगानिस्तानका राष्ट्रपति हमिद कार्जाईले आज इस्लामावादमा बोल्दै अफगानिस्तान कुनै पनि मुलुकका लागि युद्धस्थल बन्न नहुने बताउनुभयो।
श्री कार्जाईले आजै पाकिस्तानी प्रधानमन्त्री सयेद युसुफ राजा गिलानीसँग वार्ता गर्नुभयो। वार्तापछि आयोजित पत्रकार सम्मेलनमा उहाँले पाकिस्तान नभए र पाकिस्तान तथा अफगानबीचको सहयोग नभएमा अफगानमा स्थिरता तथा शान्ति हुने सम्भावना नरहेको कुरा औँल्याउनुभयो।
श्री कार्जाईले हिजो दिउँसोदेखि इस्लामावादको भ्रमण सुरु गर्नुभएको हो। उहाँले हिजै पाकिस्तानी राष्ट्रपति असीफ अली जार्दारीसँग भेट-वार्ता गर्नुभएको थियो।