मेरो प्यारो शिशु संविधान !
नेपाली जनताको सत्तरी वर्षको ,
भगिरथ प्रयाश पछि ,
धेरै शहीदको वलिदान पछि ,
नेपाल आमाको सदियौंको तपस्या पछि ।
जसोतसो गर्भधारण गरेका थियौ ।
सामान्य शिशु नौ महिनामा जन्मन्छ ,
तर ! तर तिमी चारचार वर्ष गर्भ मै कैद बन्यौ ।
तिम्रो जन्मने मार्ग अवरुध्द पारे ,
भित्तेवार लगाए ,
जुँगाको निम्ति ।
तर जे होस् तिमी जन्मनै पर्थ्यो
जन्मियौ ।
तिमी जन्मदा कसैले हर्षबढाइ गरे ।
कसैले लेप्रेअोठ लाए ।
कसैले बत्ती बाले , कसैले बत्ती निभाए ।
कसैले चुच्चानाके जन्म्यो भने ।
कसैले विगत कै निरन्तरता भने ।
कसैले हामी स्याहार्दैनौ पनि भने ।
कसैले आफ्नो नाम आएन भने ।
जे होस् ! सवैका आ-आफ्ना तर्क थिए ।
तर्क मन्थन हुनु पर्छ ,
सवैको स्थान र अपनत्व हुनु पर्छ ।
तिमी सवैको हौ र सवै तिम्रा हुन् ,
जो सच्चा देशभक्त भएर आउँछन् ।
तर ! तर सधै आफ्नो खटनपटनमै ,
चल्नु पर्छ भन्नेले चारचार महिना
नाकावन्दी पनि लगाए
स्याल हुइँया पनि चलाए ।
आखिर सवै हार खाए ।
मेरो प्यारो शिशु संविधान !
तिमीलाई स्याहार गर्छौं ,
तिम्रो संरक्षण गर्छौं भन्नेहरू ,
ठेक्कापट्टा लिएर आए ,
अनि तिमीलाई आफ्नो पोल्टामा पारे, घेराबन्दीमा पारे ।
तिम्रो पालनपोषण , संरक्षण गर्नु त कताकता !
तिमीले पाउनुपर्ने पोषण तत्व ,
आफैले भागबण्डा लाएर खाए ।
तिमीलाई कुपोषणको शिकार बनाए
जग हँसाए !
मेरो प्यारो शिशु संविधान !
आखिर संरक्षक हूँ भन्नेले नै
तिमीलाई बामपुड्के बनाए ।।
तिम्रो अमुक, स्निग्ध, कोमल तनलाई
कोही झेली गरेर नचाउने ।
कसैले माकुरी जालमा फसाउने ।
कोही पुतना राक्षसी दुध चुसाउने ।
कसैले घोंचपेंचमै तिमीलाई सताउने ।
कोही जिब्रो लटपटाएर दुनो सोझाउने
कसैलाई लाग्नै नपर्ने कुरा लागीरहने
कसैले माने नै नलाग्ने माने लगाइरहने
उफ् !! तर पनि धन्य हो !
तिमी जिवित छौ ।
मेरो प्यारो शिशु संविधान् !
संरक्षक हूँ भन्नेले नै !
तिमीलाई वामपुड्के बनाए ।।
मेरो प्यारो शिशु संविधान !
अव त तिमी हुर्कि सक्यौ ।
तिमी स्कुल जाने, पढ्ने लेख्ने ,
हाँस्नेखेल्ने भयौ ।
यती ठूलो भैसक्दा पनि तिम्रो शिक्षादिक्षा , हाँसोखुसी केही छैन किनभने
विडम्बना ! तिमीले पढ्ने पुस्तक ,
लेख्ने कलम सवै शिक्षा माफियाले
मार्सी चामलमा कुम्लाइसके ।
तिम्रो स्वास्थ्य सामग्री घरभेटीले
कब्जा गरिसके ।
तिम्रो हकअधिकार उनैका सम्धीले लगे , छोरीले लगे , ज्वाइँले लगे ।
कुलकिटुम्ब सवै तिम्रो हुर्मत काडे ।
तिमीले खेलाउने खेलौनाहरू पनि
उनैका सन्तान मात्र खेलाउँदै छन् ।
उनीहरू मात्रै आफै पढ्दै छन् ।
उनीहरू मात्र उपचार पाउँछन्
तिमीलाई त सके पशुपतीले रक्षा गर्छन्
नभए भाग्यलाई दोष लाउँछन् ।
यस्तो विरक्त अवस्था देखेर
तिम्रा बाबु अनसनमा छन् ।
तिम्री आमा धर्नामा छिन् ।
तिम्रा सहोदरहरू ,
रोग , भोक र शोकले ग्रस्त छन् ।
तिम्रा सहोदरहरू पर्देशमा पसिना बगाउन बाध्य छन् !
यहाँ भएका केही आफन्तहरू ,
दैनिक नाराबाजी गर्छन् ।
कोही कुर्ची तान्न नाराबाजी गर्छन् ।
कोही कुर्ची थाम्न नाराबाजी गर्छन् ।
तिम्रो बाउको कुटोकोदालो पनि
बेचेर खाइसके ।
तिम्री आमाको नत्थ पनि छाडेनन् ।
मेरो प्यारो शिशु संविधान !
तिम्रो संरक्षण गर्छौं भन्नेले नै
तिमीलाई बामपुड्के बनाए ।।
मेरो प्यारो शिशु संविधान !
तिमी आफू बामपुड्के भएकोमा
चिन्ता नगर !
एकदिन त्यस्तो दिन आउने छ ।
तिमी सन्तमहात्मा पुरुष योगीको रुपमा हातमा कमण्डलु धारण गर्दै
आउने छौ भिक्षाटनको लागि ।
तिम्रा संरक्षक ठेकेदारहरू
आफू चक्रवर्ती राजपाठको लागि
दानवीर हुन आउने छन् तिम्रो सामु ।
तिमीलाई तिनको अहंको पराकाष्टा
सह्य हुने छैन ।
उनीहरू तिमीले मागे जति दान दिन कबुल गर्ने छन् ।
त्यसबेला तिमीले सत्य , सदाचार र सत्कर्मको तीन पाइला जमिन माग्ने छौ ।
यहा त्यो तिम्रो तीन पाइला टेक्ने ठाउँ पुग्ने छैन ।
तिनीहरू आफ्नो टाउको थाप्न बाध्य हुने छन् ।
तिमीले तिनीहरूको टाउकोमा टेक्दा
तिनीहरूलाई रसातल पातालमा भास्ने छौ ।
यहाँ सत्य , सदाचार र सत्कर्मको बस्ती बसाउने छौ।
मेरो बामन अवतार !अव तिमी छिट्टै आउने छौ ।
मेरो प्यारो शिशु संविधान !
तिमी महान हुने छौ ।
सवैले तिम्रो जयजयकार गर्नेछन् ।।
(संविधान दिवसको शुभकामना सवैमा )