अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा रहेका सामुदायिक विद्यालयका ५१ जना शिक्षकहरु समयमा सम्पत्ति विवरण नबुझाएका कारण कारवाहीमा परेका छन्।
आर्थिक वर्ष २०७५-७६ को सम्पत्ति विवरण नबुझाउने सन्धिखर्कका ५१ जना शिक्षकलाई ५ हजारका दरले जरीवाना बुझाउन सन्धिखर्क नगरपालिकाले आग्रह गरेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंको परिपत्रअनुसार सम्पत्ति विवरण नबुझाएका शिक्षकलाई ५ हजार जरीवाना तिरेको नतिरेको विवरण बुझाउन आग्रह गरिएको अनुसार सन्धिखर्क नगरपालिकाले आग्रह गरेको छ।
सन्धिखर्कमा रहेका आधारभुत विधालय, निमावि र माविका गरी ५१ जना शिक्षकहरुले सम्पत्ति विवरण बुझाएका छैनन्।
आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्ने प्रावधान रही आएको भए पनि समयमा सम्पत्ति विवरण नबुझाएका शिक्षकहरुलाई जरीवाना गरिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।
स्थायी शिक्षकहरुले विद्यालय किताबखानामा र अस्थायी शिक्षकहरुले सम्बन्धित स्थानीय तहमा सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ।