नेकपामा अन्तरिक विवाद चुलिँदै गएका बेला राष्ट्रपति विद्या भण्डारी पुनः सक्रिय

काठमाडों । नेकपामा अन्तरिक विवाद चुलिँदै गएका बेला राष्ट्रपति विद्या भण्डारी पुनः सक्रिय हुनुभएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विवाद बढ्दै गएपछि राष्ट्रपति भण्डारीले एक पछि अर्को नेतालाई बोलाएर विवाद समाधानका लागि मध्यस्थताको प्रयास गरिरहनुभएको छ ।
गत मंगलबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि अनौपचारिक छलफल गर्ने निर्णय गरेलगत्तै राष्ट्रपति भण्डारीले अध्यक्षद्वय ओली र दाहालसँग भेटवार्ता गर्नुभएको छ ।
मंगलबारको सचिवालय बैठकले भोली शनिबार पुन सचिवालय र आइतबार स्थायी कमिटी बैठक बस्ने निर्णय गरेको थियो ।
यसअघि पनि विवाद बढ्दा राष्ट्रपति भण्डारीले चासो देखाउने गर्नुभएको छ । उहाँले नेकपाका विभिन्न नेतालाई निवासमै बोलाएर मध्यस्थताको भूमिका निर्वाह गर्नुभएको थियो ।
पदीय जिम्मेवारी अनुसार प्रधानमन्त्री र राष्ट्रपतिबीचका भेटवार्तालाई औपचारिक र स्वभाविक मानिन्छन् ।
तर पार्टीका विभिन्न बैठकहरु नियमित बस्न नसकेको र विवाद समाधान नभइको बेलामा राष्ट्रपतिले विभिन्न नेतालाई बोलाएर गरेको छलफलको आलोचना हुने गरेको छ ।
यसअघि अध्यक्षद्वयबीच पानी बाराबारेका अवस्था हुँदा राष्ट्रपति भण्डारीले नै मध्यस्थता गर्नुभएको थियो ।
गत मंसिर २ गते पनि दुवै अध्यक्षलाई बोलाएर उहाँले सहमतिका साथ अघि बढ्न सुझाव दिनुभएको थियो ।
संवैधनिक राष्ट्रपति भएरपनि राजनीतिमा सक्रियता देखाएको भन्दै बेला बेलामा उहाँको आलोचना हुने गरेको छ । इमेज च्यानलमा समाचार छ ।