अर्घाखाँचीभरका विद्यालयहरूमा क्वारेन्टिन बनाउँदा ५० लाख बढी भौतिक क्षति

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका विद्यालयहरूमा कोरोना संक्रमण नियन्त्रणका लागि बनाइएका क्वारेन्टिनका कारण ५० लाख बढी भौतिक क्षति भएको पाइएको छ ।
विदेश, जिल्ला बाहिर तथा भारतबाट घर फर्केकाहरूलाई कोरोना संक्रमण व्यवस्थापनका लागि जिल्लाका विद्यालयहरूलाई क्वारेन्टिन केन्द्र बनाएर राखिएको थियो ।
यसैक्रममा अर्घाखाँचीडट्कमलाई विभिन्न विद्यालयहरुले विवरण दिए अनुसार; “क्वारेन्टिनमा बस्नेहरूले फर्निचर तोडफोड, आगजनी, ईमेल, इन्टरनेट तारको दुरुपयोग गर्दा जिल्लाभरका विद्यालयहरुमा ५० लाख बढीको क्षति भएको अनुमान गरिएको हो ।”  शिक्षा विकास तथा समन्वय इकाई कार्यालय अर्घाखाँचीले अझै क्षतिको विवरण बाहिर ल्याएको छैन्न ।
विदेश, जिल्ला बाहिर तथा भारतबाट आएका स्थानीयलाई ६ पालिकाको सक्रियतामा उद्धार गरी स्थानीय स्तरकै सामुदायिक तथा निजी विद्यालयको क्वारेन्टिनमा राखिए पनि उनीहरू अनुशासनमा नबस्दा यस्तो अवस्था आएको हो ।
जिल्लाभर अस्थायी क्वारेन्टिन तथा आइसोलेसन बनाइएका विद्यालयहरुमा संक्रमणमुक्त गर्न निर्मलीकरणको जिम्मासमेत विद्यालयले लिएका थिए ।