गोपाल भट्टराई
चुत्राबेसी, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले अर्घाखाँचीको आर्थिक समृद्धिको प्रमुख आधार नै कृषि भएको बताउनुभएको छ ।
धार्मिक,पर्यटनको पनि सम्भावना हुँदाहुँदैपनि अहिलेको अवस्थामा व्यबसायिक कृषिनै बलियो आधार भएको उहाँको भनाई छ ।
सन्धिखर्क–२ मा संचालित जिल्लाकै पहिलो दुग्ध उत्पादन तथा बिक्री बितरण सस्थाको पाचौं साधारणसभालाई उद्घाटन गर्दै नगर प्रमुख भुसालले यस्तो बताउनुभएको हो । सानो देखि बृहत लगानीमा गर्न सकिने व्यबसायिक कृषिभित्र रहेका विचौलिया प्रमुख समस्याको रुपमा रहेकोले आफुहरुले अहिले उत्पादनमा आधारित अनुदान दिन थालेको जानकारी गराउनुभएको छ । बिउ,मल तथा उत्पादित बस्तुको बजारसम्म जताततै विचौलियाको बिगबिगिले वास्तविक किसान आझेलमा परेको भन्दै नगर प्रमुख भुसालले यसलाई रोक्न सहकारीले बिशेष भुमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।
काम पनि नगर्ने,गर्नपनि नदिनेहरुको हेर्ने दृष्टी फरक भएपनि सन्धिखर्क नगरपालिकाले कृषि,पर्यटन तथा स्वरोजगार संगै समग्रक्षेत्रको विकासमा लागिपरेको नगरप्रमुख भुसालको दाबी छ । पशुलाई समेत सुत्केरी भत्ता बितरण यसैको उदाहरण भएको उहाँले बताउनुभयो । उद्यम गर्ने योजनाका साथ आउने नगरवासी जोकोहिलाईपनि आवस्यकता र क्षमता अनुसारको सहयोग गर्न आफुहरु हरदम तत्पर रहेको नगरप्रमुख भुसालले बताउनुभयो ।
सहकारीका अध्यक्ष चन्द्र प्रसाद बन्जाडेको अध्यक्षता,शान्ता पन्थीको स्वागत मन्तव्य र राजेन्द्र आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिका सहकारी शाखा प्रमुख जिवनारायण चुँदाली,पत्रकार महासंघ प्रदेश सदस्य प्रेम आचार्य लगायतलेपनि मन्तव्य राख्दै वास्तविक किसानलाई प्रोत्साहन गर्न र कृषिको विकासमा आवस्यक कदम चाल्न सहकारीलाई सुझाव दिनुभएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्र प्रसाद बन्जाडेले ३ करोड ६९ लाख ३८ हजार बढिको आर्थिक र बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । १ सय १५ जना सेयर रहेको सहकारीमा ४८ लाख २८ हजार रुपैयाँ सेयर रकम रहेको बताइएको छ ।