सन्धिखर्कमा खरिदार तथा नायव सुब्बा स्तरीय १ महिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा खरिदार तथा नायव सुब्बा स्तरीय १ महिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, जिल्ला कार्यसमिति, अर्घाखाँचीले फागुन २० गतेदेखि सन्धिखर्कमा आयोजना गरेको कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
मोफसल तथा राजधानी लगायतका स्थानमा गएर पढ्न नसक्नेहरुलाई लक्षित गरि संचालन भएको कार्यक्रममा ७० जना प्रशिक्षार्थी सहभागी थिए ।
सहभागीहरुलाई दैनिक २ घण्टाका दरले जिल्लामा मौजुदा उप-सचिव, शाखा अधिकृत तथा नायव सुब्बा स्तरका दक्ष तथा अनुभवी कर्मचारीहरुले प्रशिक्षण गराउनु भएको थियो । प्रशिक्षार्थीहरुलाई आधिकारि ट्रेड युनियनले नोटहरु हार्ड कपि तथा सफ्ट कपी वितरण गरिएको गरिएको कार्यक्रमका सदस्य अरुणकुमार आचार्यले बताउनु भयो ।
समापन कार्यक्रममा प्रशिक्षकहरुलाई प्रशंसा पत्रदिदै सम्मान समेत गरिएको थियो भने सहभागीहरुलाई प्रमाण पत्र र नेपालको संविधान वितरण गरिएको कार्यक्रमका संयोजक कृष्ण वर्माले बताउनु भयो ।
अभिमुखीकरण कार्यक्रममा विभिन्न समयमा लिईएका परीक्षामा प्रथम सुरज बेल्वासे र द्वितीय हुने मधु पाण्डे मुखियालाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले आधिकारिक ट्रेड युनियनले जिल्लामा रचनात्मक तथा प्रवर्द्धनात्मक क्रियाकलाप गरि रहेको भन्दै आधिकारिक ट्रेड युनियनको प्रशंसा गर्दै आगामी दिनमा पनि यसै गरी लागि पर्न र आवश्यक सहयोग र समन्वयन गर्न आफू तयार रहेको बताउनु भयो ।
कार्यक्रममा अध्यक्षता ग्रहण गर्नु भएका आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमिति, अर्घाखाँचीका अध्यक्ष झविन्द्र खनालले आधिकारिक ट्रेड युनियन देशमा १ नम्बर बन्न अग्रसर रहेको भन्दै सहभागीहरुलाई आफूहरुले जुनसुकै समयमा र अबस्थामा पनि समन्वयन र सहकार्य गर्न पछि नपर्ने जानकारी गराउनु भएको थियो भने अब आधिकारिक ट्रेड युनियनले अब वृति नामक प्राज्ञिक तथा ज्ञान वर्धक पुस्तक प्रकाशन गर्न लागेको समेत जानकारी गराउनु भएको थियो ।
सोही कार्यक्रममा जिल्लामा सरुवा भएर आउनु भएका विभिन्न कर्मचारीहरुलाई स्वागत समेत गरिएको थियो । समापन कार्यक्रम आधिकारिक ट्रेड युनियनका सह(सचिव तारा प्रसाद पोखरेलले गर्नु भएको थियो भने संचालन सदस्य विकल्प भट्टराईले गर्नु भएको थियो ।