अर्घाखाँची अस्पताल बिरामीको चाप थेग्न नसक्ने अवस्थामा | अस्पतालले उपचारमा कुनै कमी नराख्ने
बैशाख २८ गते, २०७८ मा प्रकाशित
लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालमा कोरोनाका बिरामीलाई बेडको अभाव भएको छ ।
फोटो: हरि प्रसाद भुसाल
संक्रमितलाई राख्ने १६ बेडको क्षमता रहेकोमा क्षमताभन्दा बढी बिरामीलाई उपचार गर्न बाध्य भएको अस्पतालका प्रमुख डा. कपिल गौतमले बताए ।
अस्पतालले मंगलवार २३ जना बिरामी राखेर उपचार गरिरहेको छ । १० बेडको एचडियु र ६ वटा जनरल बेड भएपनि बिरामीको संख्या बढ्दै जाँदा थेग्न मुस्किल रहेको डा. गौतमको भनाई छ । ‘अवस्था झन्पछी झन् जटिल हुँदैछ । बिरामीको संख्या दिनप्रतिदिन बढ्दो छ,उनले भने,‘हामीसंग भएको श्रोतसाधनले थेग्ने अवस्था छैन ।’
सबै अक्सिजन चाहिने बिरामी आएको भन्दै उनले थप अक्सिजन र अन्य सामाग्री चाहिने भएकाले सहयोग गर्न सबैमा आव्हान गरेका छन् । कुनै बेड खाली नभएको भएपनि यद्यपि उपचार भने गरिरहेको जानकारी दिएका छन्।