नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाइयाे


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समीर कुमार अधिकारीले नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको बताएका छन्।
खोप लगाउने क्रम जारी रहेको पनि उनले बताए। नेपालमा हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको पनि उनले जानकारी दिए।
सह–प्रवक्ता अधिकारीले हालसम्म भारत सरकारले उपहारस्वरुप दिएको कोभिशिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधा अन्र्तगत ३ लाख ४८ हजार डोज प्राप्त भएको र नेपाली सेनालाई १ लाख डोज प्राप्त भएको गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको उहाँले जानकारी दिए।
त्यस्तै चीनबाट ८ लाख डोज भेरोसेल खोप प्राप्त भई जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको उनको भनाई छ। त्यसमध्ये २५ लाख डोज खोप लगाईसकिएको र बाँकी रहेको खोप लगाउने क्रम जारी रहेको डा‍. अधिकारीले बताए।
७ लाखको हाराहारीमा खोप मौज्दात रहेको भए पनि भेरोसेल खोप लगाउन शुरु गरिएको उनको भनाइ छ। भारतसँग २० लाख डोज खोप खरिद गरेको भए पनि १० लाख मात्रै आएको र १० लाख डोज आउन बाँकी रहेको उनले जानकारी दिए।
स्पुतनिक भि खोप लगायतका अन्य खोपहरु ल्याउने सम्बन्धमा समन्वय तथा कुराकानीहरु भइरहेको पनि उनले बताए। कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढीरहेको सम्बन्धमा देशभरी ९० वटा प्रयोगशालाबाट पिसिआर परिक्षण भइरहेको उनले जानकारी दिए।
अहिले एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएका र कन्ट्याक्ट ट्रेसिमा परेकाहरुको पिसिआर परीक्षण भइरहेको छ। पिसिआरको दायरा बढाउन सरकारको तयारी रहेको पनि सह–प्रवक्ता अधिकारीले बताए।
अहिले नीजि तथा सरकारी प्रयोगशालाहरुबाट परीक्षण भइरहेको छ। एन्टीजेन परिक्षण भने मुख्य गरि नेपाल भारत सीमामा भारतबाट नेपाल भित्रिने नेपालीहरुमा गरिएको छ।
यस्तै सह–प्रवक्ता अधिकारीले अस्पताल तथा प्रयोगशालाहरुलाई आवश्यक स्वास्थ्य सामाग्रीहरु तीन महिनालाई पुग्ने मौज्दात रहेको बताए।
संक्रमणको दर बढ्दै जाँदा मौज्दातमा अशर पर्ने भएकोले आवश्यक स्वास्थ्य सामाग्रीहरु ल्याउनको लागि पनि स्वास्थ्य मन्त्रालयले विभिन्न निकायसँग छलफल गरिरहेको बताए।
अहिले आवश्यक पर्ने परीक्षणका सामाग्री, उपचारका सामाग्री र अन्य आवश्यक सामग्रीहरुको सहयोगका लागि विभिन्न निकायमा, दाताहरु सँग पत्राचार गरिएको उनको भनाइ छ। देशसन्चारमा समाचार छ ।