विपक्षी कन्सर्भेटिभ पार्टी सबैभन्दा ठूलो दल बन्न पुगेको छ।
सो दलका नेता डेभिड क्यामरनले नयां सरकार गठन संबन्धमा छिट्टै एउटा सहमति बनाउनु पर्ने जनाए।
उनले भने, "ब्रिटेनले बिहीबार परिवर्तनको पक्षमा मतदान गर्यो। तर उसले नयां राजनीतिको पक्षमा पनि मतदान गरेको हो। उसले राजनीतिक दलहरुबीच खिचातानी वा किचलोका लागि मतदान गरेको होइन।"
लेबर पार्टीका नेता तथा प्रधानमन्त्री गोर्डन ब्राउनले यदि कन्सर्भेटिभ तथा लिबरल डेमोक्रयाटबीच कुनै सहमति बन्न नसकेमा आफू लिबरल डेमोक्रयाट पार्टीसंग कुरा गर्न तयार रहेको जनाए।
चुनावको धेरैजसो नतीजा आईसक्दा कन्सर्भेटिभ पार्टीले तीनसय भन्दा बढीस्थानमा जीत हासिल गरेको छ भने लेबर पार्टीले अढाईसय भन्दा केही बढी स्थानमा विजय प्राप्त गरेको छ।
चुनाव अघिका मत सर्वेक्षणहरुमा लिबरल डेमोक्रयाटिक पार्टीले राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको भएतापनि सो दलले यसअघि आफूसंग भएका स्थानहरुमध्ये केही गुमाएको छ।
लिबरल डेमोक्रयाट पार्टीका नेता निक क्लेगले कन्सर्भेटिभ पार्टीलाई नै सरकार गठन गर्न दिइनु पर्ने जनाएका छन्।
नयां सरकार
तर उनले आफ्नो पार्टीले कसलाई सघाउने छ भन्ने अझै बताएका छैनन्।
नयां सरकार गठन गर्न लिबरल डेमोक्रयाट पार्टीको महत्वपूर्ण भूमिका हुने बताईंदै गर्दा उनको त्यस्तो भनाइ आएको हो।
यो चुनावमा केही चर्चित उम्मेदवारहरु पराजीत भएका छन्।
पराजीत हुनेहरुमा भूतपूर्व गृहमन्त्री तथा लेबर पार्टीकी नेतृ ज्याकी स्मिथ पनि छन्।
स्मिथका श्रीमानले एउटा अश्लील भिडियो भाडामा लिन खर्च गरेको रकम उनले सांसदको रुपमा आफूले गरेको खर्चकारुपमा दावी गरेपछि उत्पन्न विवादका कारण उनले पदबाट राजीनामा दिएकी थिइन्।
त्यस्तै उत्तरी आयरल्याण्डका वरिष्ठ मन्त्री पिटर रबिन्सन चुनावमा पराजीत भएका छन।
यसअघि उनकी श्रीमती यौन तथा वित्तीय घोटालासंबन्धी काण्डमा मुछिएकी थिइन्।
उता ग्रीन पार्टीकी नेतृ क्यारोलिन लुकास ब्रिटिश संसदमा निर्वाचित भएकी छिन्।
उनको पार्टीले संसदमा स्थान हासिल गरेको यो पहिलो पटक हो।