अर्घाखाँचीमा टोपबहादुर रायमाझीद्धारा अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण


शोभाखर पन्थी | अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची / जेठ १५ (अर्घाखाँचीडट्कम) । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनवर्गीय संगठन इन्चार्ज तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफ्नो गृह जिल्ला अर्घाखाँचीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । 
रायमाझीले १७ थान अक्सिजन सिलिन्डर सहित अक्सिजन कन्सटेटर ४ थान , डिजिटल थर्मोमिटर ४ थान, एन्टिजेन कीट ६५० पिस लगायतका स्वास्थ सामाग्री शनिवार आफै गृह जिल्ला आइ प्रमुख जिल्ला अधिकारी  (सीडीओ ) बिष्णु पौडेललाई  हस्तान्तरण गर्नुभएको हो । 
सो स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा  रायमाझीले कोभिड नियन्त्रण र रोकथामको निम्ति सरकारले संपूर्ण संयन्त्र परिचालन गरेको बताउनुभएको छ ।
उहाँले विश्वमानव समुदायको निम्ति चुनौतीको रुपमा रहेको कोरोना भाईरसले पछिल्लो समय नेपाललाई समेत नराम्रो सँग प्रभावित पारेको भन्दै यसको नियन्त्रण र रोकथामको निम्ति कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।  केही समय पहिले देशका प्रमुख अस्पतालमा बेड,आई.सि.यु.भेन्टिलेटर र अक्सिजनको समस्या देखिएको भएपनि अहिले सरकारले सबै तयारी पूरा गरेको उहाँको भनाइ थियो । रायमाझीले कोरोना भाईरस नियन्त्रण र रोकथामको निम्ति खोप लगाउनु अनिवार्य भएको भन्दै ,केही महिना भित्रमा सबै नेपाली जनतालाई खोप लगाउने गरि विभिन्न मुलुकहरू सँगको वार्ता र संवादलाई तिब्र पारिएको बताउनु भयो ।
उहाँले कोभिड संक्रमण बाट जिल्लाबासी लाई बचाउनु आफ्नो दायित्व भएको भन्दै  कोभिडका कारण आफु थलापरी काठमाडौको अस्पताल भर्णा भएको समयमा पनि जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामाग्री पठाएको बताउनुभयो । रायमाझीले जिल्ला अस्पतालमा कुनै कुराको कमिहुन नदिनेगरी काम भैरहेको भन्दै, अक्सिजन प्लान्टको काम अगाडि बढ्नुका साथै अब आफ्नो ध्यान बिशेषज्ञ सेवा तर्फ केन्द्रीत भएको बताउनुभयो । 
एक फरक प्रसंगमा नेकपा एमाले स्थायी कमिटीका सदस्य समेत रहनुभएका रायमाझीले  सरकारले तोकेको समयमै चुनाव सम्पन्न हुने बताउनु भएको छ।उहाँले चुनाव अघि नै जनतालाई कोरोना बिरुद्धको खोप लगाई सक्ने भन्दै चुनाव हुनेकुरामा ढुम्क हुन जिल्ला बासीलाइ आग्रह गर्नुभयो । उहाँले वर्तमान केपी ओली नेतृत्वको सरकारले नै चुनाव सम्पन्न गर्ने भन्दै  दुबिधामा पर्नुपर्ने कुनै कारण नै नभएको  बताउनुभयो । 
प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले कोरोना भाईरस नियन्त्रणको निम्ति सबै पक्षको सहयोग अपरिहार्य रहेको बताउनु भयो । 
कार्यक्रममा नेकपा एमालेका युवा नेता लिला जि.सी.,स्वास्थ्य बिभागका उपसचिव महेश पाण्डे ,अस्पताल बिकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल ,युवासंघका केन्द्रीय सचिव  गोविन्द भुसाल ,पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
रायमाझीले यस अगाडि गत वैशाख २९ गते बुधवार जिल्लालाई २३ थान अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्टेटर ५ थान, भिटिम १८०० थान, एन्जिट ४०० थान, सर्जिकल माक्स २७०० थान, सेनिटाइजर १५ लिटर, अक्सो मिटर ७ थान, डिजिटल थर्ममिटर २० थान, पिपिए १९० थान, पन्जा २०० थान, चस्मा ५० थान र फेस सिड ५० थान स्वास्थ्य सामाग्रीहरु पठाएका थिए । 
मन्त्री रायमाझी वैशाख १३ गते  सोमबार कोरोना संक्रमण भएपछि काठमाडौं स्ठित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भई वैशाख २० गते सोमबार डिस्चार्ज भएका थिए । उनको ११ दिनपछि वैशाख २३ बिहिबार कोरोना  रिपोर्ट  नेगेटिभ आएको थियो ।