अर्घाखाँचीमा अहिलेसम्म १८ वर्ष माथिका ३६,७१७ जनाले कोरोना खोप लगाए, ७७,९८८ जना बाँकी | खोप ल्याउन कसैले पहल गरेनन्


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाका सबै खोप केन्द्रमा अहिलेसम्म ३६ हजार ७ सय १७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 
१८ वर्षभन्दा माथि १ लाख १४ हजार ७ सय ५ जना जनसंख्या रहेको अर्घाखाँचीमा हालसम्म ३६ हजार ७ सय १७ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । जस अनुसार जिल्लामा १८ वर्षभन्दा माथिका ७७ हजार ९ सय ८८ जना खोप लगाउन पाएका छैनन् । 
स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले दिएको जानकारी अनुसार जिल्लामा कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएका ९ हजार एकसय २५ जना कोभिसिल्ड र ११ हजार पाँचसय १ जना भेरोसेल खोपको पर्खाईमा छन्। जिल्लामा भारतीय खोप ‘कोभिशिल्ड’ को पहिलो मात्रा १२ हजार ९ सय ३४ जनाले लगाएका छन्। त्यसमध्ये ३ हजार आठसय ९ जनाले दोस्रो मात्रा लगाइ सकेका छन्।
पहिलो मात्रा लगाएको चार महिना बितिसके पनि ९ हजार एकसय २५ जनाले खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन्। चाईनिज खोप ‘भेरोसेल’ को पहिलो मात्रा १४ हजार ६ सय ३३ जनाले लगाइ सकेका छन् भने ३ हजार एकसय ३२ जनाले दोस्रो मात्रा पनि लगाएका छन्। ११ हजार पाँचसय १ जना अहिले पनि दोस्रो मात्राको खोपको पर्खाइमा छन्।  
अमेरिकी खोप ‘जोन्सन एण्ड जोन्सन’ ९ हजार पाँचसय ५० जनाले लगाएका छन्।
उता जिल्लालाई जनप्रतिनिधीहरुले समयमा खोप ल्याउन पहल नगरेको भन्दै जिल्लाबासीहरुले तिव्र आलोचना भएको छ । उनिहरु भन्छन्; जिल्लामा अहिले चाहिएको भनेको खोप हो, अर्घाखाँचीको तुलनामा अन्य जिल्लाले बढी खोप पाएका छन् तसर्थ तुरुन्त खोप ल्याउन पहल होस् ।