अर्घाखाँचीमा एमालेको जिल्ला कमिटीमा २०७५ जेठ २ अगाडिको जिम्मेवारी (बैठकबाट पारित प्रस्ताव सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा (एमाले) जिल्ला कमिटीका सबैले २०७५ जेठ २ पुर्वको जिम्मेवारी प्राप्त गरेका छन् । 
एमाले जिल्ला कार्यालयको सन्धिखर्कमा सम्पन्न बिस्तारित बैठकले जिल्ला कमिटीका सबैलाई २०७५ जेठ २ पुर्वको जिम्मेवारी दिएको  हो ।
एमाले छाडेर माधव नेपालको समाजवादी पाटीमा तत्कालिन एमाले जिल्ला सचिव रामबहादुर चौहान, पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम सहितका नेता तथा कार्यकर्ता लागेका छन् ।
१० बुदे सहमतिको प्रस्ताव सहित पार्टी २०७५ जेठ २ मा फर्किए पछि पार्टीमा ३ बर्षदेखी बिधि पद्धतिको लागि अन्तर सघर्ष गरिरहेका एमाले उपाध्यक्ष जीवनारायण कोइराला,उपसचिव प्रेम नारायण गैरेको नेतृत्वको टिमपनी बैठकमा सहभागी भएको थियो ।  
विभाजनको गलत बाटो छाडेर एमालेमा आउन आग्रह
उता एमालेले पाटी विभाजनतिर नलाग्न एमाले नेता तथा कार्यकर्तालाई अनुरोध गरेको छ । 
गलत बाटो छाडेर मुल घरमा फर्कि आफ्नो पुरानै यथावत जिम्मेवारीमा फर्कन भनेको छ । एमालेको सन्धिखर्कमा विस्तारित बैठकले विशेष प्रस्ताव पारिद गर्दै विभाजन भएको गलत बाटोमा नलागी लाखौं कार्यकर्ताको मेहनतबाट बनेको पाटी नेकपा एमालेमा गोलबद्ध भएर लाग्न कार्यकर्तालाई अनुरोध गरेको नेकपा एमाले जिल्ला उपसचिव प्रेमनारायण गैरेले जानकारी दिए ।
नेकपा (एमाले) बाट विभाजित भएर अलग्गै पार्टीमा जाने बाटोमा लाग्नु भएका नेता कार्यकर्तालाई मुलुकका सामु उपस्थित असाधारण सम्भावना र चुनौतिप्रति संवेदनशील हुँदै पार्टीको काधमा आएका ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै, असफलता बाहेक अरु कुनै विकल्प नभएको त्यस्तो गलत र हानिकारक बाटोमा नलाग्न र बाटो लागेकाहरु छाडेर पार्टी एकतामा आवद्ध हुन, मूल घरमा आफ्नो पूर्ववत जिम्मेवारीमा फर्कन हार्दिक अपिल गरेको छ । साथै, विभाजनकारी गतिविधिबाट अलग भएर पार्टी एकतामा योगदान गर्ने नेता कार्यकर्तालाई पार्टीमा हार्दिक स्वागत गरिने र यस अघिका कुनैपनि क्रियाकलापहरुलाई लिएर पूर्वाग्रह नराखिने र विना भेदभाव पार्टीमा स्वागत गरिने कुराको स्पष्ट पारेकाे एमालेले जनाएको छ ।
बैठक एमाले अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता भएको बैठकमा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यता,प्रदेश संगठन कमिटी सचिवालय सदस्य रामजी घिमिरेको विशेष आतिथ्यता र प्रदेश कमिटी सदस्य नरेन्द्र कुमार क्षेत्री,जनार्दन खनाल,कुटमदिन अलि,जिल्ला कमिटी उपाध्यक्ष जीवनारायण कोइराला,उपसचिव प्रेम नारायण गैरे समेतको आतिथ्यता रहेको थियो ।


नेकपा (एमाले) जिल्ला कार्यालय अर्घाखाँचीको विस्तारित बैठकबाट पारित विशेष प्रस्ताव 

नेकपा (एमाले)को एकता यस पार्टीका लाखौं सदस्य र समर्थक शुभचिन्तकहरुको मात्रै होइन, लोकतन्त्र र अग्रगमन पक्षधर आम जनता र देशकै चाहना हो । तर प्रतिक्रियावादी, पश्चगामी र अस्थिरताका संवाहकहरुको चाहना भने यसको विभाजन र विखण्डन हो । यसकालागि उनिहरुका तर्फबाट भइरहेका प्रयासहरु सबैका सामु स्पष्ट छन् । जीवन्त र लेकतान्त्रिक पार्टी भित्र समस्याहरु उत्पन्न हुनु, समस्यालाई हेर्ने दृष्टिकोणमा भिन्नता हुनु र कतिपय प्रश्नहरुमा असहमति पैदा हुनु स्वभाविकै हो । तर समस्याको विकल्प विग्रह होइन । असहमतिको समाधान विभाजन त झन हुदै होइन । पार्टीको आन्तरिक जीवनमा उच्च लोकतान्त्रिक अभ्यास गर्दै आएको नेकपा (एमाले) भित्र समस्याको सकरात्मक समाधान खोज्ने, भिन्नताहरुलाई उन्नत स्तरको एकतामा रुपान्तरित गर्ने र असहमतिहरुलाइ स्वस्थ र रचनात्मक बहसका माध्यमबाट उच्च तहको सहमतिमा बदल्न सक्ने भरपर्दो आधार र सामथ्र्य विद्यमान छ । माक्र्सवाद– लेनिनवाद र जनताको वहुदलीय जनवादको मार्गदर्शन, समाजवाद निर्माणको साझा संकल्प तथा देश र जनताप्रति अविचलित निष्ठाका जगमा हामीले समाधान गर्न नसक्ने कुनै आन्तरिक समस्याहरु नै छैनन । 


विगत केही समययता पार्टी भित्र देखा परेका असहज र असामान्य अन्तरविरोधले गर्दा देश भरिका पार्टी कार्यकर्ता, समर्थक, शुभेच्छुकहरु असाध्यै चिन्तित छन् । यसबाट नेकपा –एमाले)को आन्तरिक जीवन मात्र होइन, मुलुकको राजनीतिक स्थायित्व, अग्रगति र एकता समेत कमजोर हुने हो कि भन्ने स्थितिको अविलम्ब अन्त्य र विद्यमान समस्याहरुको समाधान गरी पार्टी एकतालाई एकतावद्ध एवं सुदृढ बनाउनका लागि यही भदौै ८ गते नेकपा (एमाले) स्थायी कमिटी र भदौ १० गते केन्द्रीय कमिटीको बसेको बैठकले  नेकपा (एमाले)मा विद्यमान समस्या समाधान सम्वन्धी १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने निर्णय अनुसार गरेको छ । प्रस्ताव अनुसार–पार्टीका सबैतहका कमिटी, निकाय र जनसंगठनहरु पर्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको संगठनात्मक अवस्थाबाट क्रियाशील हुनेछन भने २०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला पछि नेकपा (एमाले)मा रहने निर्णय गर्नुभएका कमरेडहरुलाइ उहाँहरुलाइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा रहँदा सरहको कमिटीमा संगठित गरिने छ । 

तसर्थ, नेकपा (एमाले) बाट विभाजित भएर अलग्गै पार्टीमा जाने बाटोमा लाग्नु भएका कमरेडहरुलाइ मुलुकका सामु उपस्थित असाधारण सम्भावना र चुनौतिप्रति संवेदनशील हुँदै पार्टीको काधमा आएका ऐतिहासिक अभिाराप्रति सचेत रहँदै, असफलता बाहेक अरु कुनै विकल्प नभएको त्यस्तो गलत र हानिकारक बाटोमा नलाग्न र बाटो लागेकाहरु छाडेर पार्टी एकतामा आवद्ध हुन, मूल घरमा आफ्नो पूर्ववत जिम्मेवारीमा फर्कन हार्दिक अपील गर्दछौं ।साथै, विभाजनकारी गतिविधिबाट अलग भएर पार्टी एकतामा योगदान गर्ने कमरेडहरुलाइ पार्टीमा हार्दिक स्वागत गरिने र यस अघिका कुनैपनि क्रियाकलापहरुलाइ लिएर पूर्वाग्रह नराखिने र विना भेदभाव पार्टीमा स्वागत गरिने कुराको स्पष्ट पार्न चाहन्छौं ।

अतःपार्टी र जनसंगठनहरुलाई विधि र पद्धतिसम्मत किसिमले उच्च समझदारीका साथ संचालन गर्दै एकता, क्रियाशीलता र मर्यादाको अभिवृद्धि गरिनेछ । यसका लागि एकतावद्ध भई आ–आफ्नो स्थानबाट सक्रियतापूर्वक अधिकतम् योगदान गर्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाइ हार्दिक आव्हान गर्दछौं ।