अर्घाखाँचीबाट विद्यालय शिक्षकहरु एमाले महाधिवेशनमा गएपछि पढाई प्रभावित, कयौ स्कुल बन्द


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सबै सामुदायिक विद्यालयबाट चितवनमा जारी एमालेको दशाैँ महाधिवेशनका लागि शिक्षकहरू गएपछि  पढाई प्रभावित भएको छ ।
जिल्लाका  सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका,  शितगंगा नगरपालिका,  मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयबाट चितवनमा जारी एमालेको दशाैँ महाधिवेशनका लागि शिक्षकहरू गएपछि  पढाई प्रभावित भएको हो ।
मालारानी, सन्धिखर्क, भूमिकास्थान, पाणिनी र छत्रदेवका कयौ विधालयहरु शुक्रवार विद्यालय बन्द भएको  बताइएको छ ।  
अधिकांश शिक्षक एमालेको महाधिवेशनमा गएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । विद्यालय बन्द गरी राजनीतिक कार्यक्रममा जानु गलत भएको अर्घाका स्थानिय अभिवावक बिष्णु भुसालको भनाई छ । उनी भन्छन्; शिक्षकहरू खुलेर राजनीतिमा लाग्दा शिक्षा क्षेत्रसमेत बदनाम तथा प्रभावित भएको छ ।
जिल्लाका कयौ शिक्षकहरू विद्यालय बिदा गर्ने जानकारीसमेत नगराई महाधिवेशनमा गएका थिए । 
यस्तै सन्धिखर्कका कयौ सरकारी कर्मचारी लगायत नगरपालिका र गाउँपालिका कार्यालयका अधिकांश कर्मचारी पार्टीको महाधिवेशनमा गएपछि कार्यालयको कामकाजसमेत प्रभावित भएको छ ।