लिस्बन । पोर्चुगलमा भएको संसदीय निर्वाचनमा सत्तारूढ दल समाजवादी पार्टी नै विजयी भएको छ । प्रधानमन्त्री एन्टोनियो केस्टले नेतृत्व गरेको पार्टीले ९२.६ प्रतिशत मतगणना गर्दासम्म ४२.१ प्रतिशत पाएको निर्वाचन आयोगले जनाएको छ ।
अहिलेसम्मको नतिजानुसार अर्को पार्टीले जित्ने सम्भावना नरहेकाले त्यसैको जित सुनिश्चित भएको निर्वाचन आयोगले घोषणा गरेको हो ।
समाजवादी पार्टीलाई सामाजिक लोकतान्त्रिक पार्टीले पछ्याइरहेको पनि आयोगका अधिकारीले जनाएका छन् ।
आयोगले समाजवादी पार्टी नै विजयी हुने सुनिश्चित भएको घोषणा गरेपछि राष्ट्रपति मार्सेलो रेबेलो डे सौसाले नागरिकलाई बधाइ दिनुभएको छ ।
उहाँले भत्रुभएको छ– ‘यो निर्वाचन हाम्रा लागि विशेष अवसर थियो । हामीले कडा मिहिनेत गरेर यसलाई सदुपयोग गरेका छौँ, सबैभन्दा सानो उमेरदेखि सबैभन्दा वृद्घसम्मलाई अब अझ राम्रो हुने भएको छ ।’
तत्कालीन संसद्ले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि गत नोभेम्बरमा राष्ट्रपति सौसाले संसद् विघटन गर्दै निर्वाचन घोषणा गर्नुभएको थियो । बजेट पारित गर्न गत अक्टोबर २७ मा संसद्मा मतदान भएको थियो । सत्तारूढ गठबन्धनमा रहेको वामपन्थी दलले सहयोग नगरेपछि बजेट पारित हुन सकेको थिएन । त्यसपछि सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलको इतिहासमा आठौंँपटक संसद् विघटन गरिएको हो ।
धेरैले कोभिड–१९ का महामारीबिच सम्पन्न अग्रिम निर्वाचनमा सत्तारूढ दललाई धक्का लाग्ने अनुमान गरे पनि मत परिणाम अनुमानभन्दा फरक आएको छ । (रासस/सिन्ह्वा)