अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, भयरहित र मर्यादित बनाउनका लागि सुरक्षा व्यवस्थामा कडाई गरिएको हो ।
जिल्लामा सुरक्षा व्यवस्था निम्ति म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । यस्तै जिल्लाभर मत गणना स्थलमा सीसी क्यामरा लगाईएको छ । निर्वाचन अवधीभर मदिरा प्रयाेगमा राेक लगाईएकाे छ ।
उता जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीबाट मतदानका लागि चाहिने आवश्यक सामाग्री, मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कबाट मतपत्र बोकेर मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मीहरु मतदान केन्द्रमा खटिएका छन् ।
गाउँगाउँमा पुगेका मतदान अधिकृत सहितको कर्मचारीहरुले मंगलबारदेखि मतदानस्थमा घेराबार गर्ने, सर्वदलीय बैठक बसाल्ने, विभिन्न किसिमका निर्वाचन सूचना टाँस गर्ने, मतदाता परिचयपत्र वितरण गर्ने, मतदानस्थमा मतदाता शिक्षा दिने जस्ता कार्यक्रम गर्ने जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीको भनाई छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित बनाउन ४ वटै सुरक्षा निकायको व्यवस्थापन तथा खटन पटनलाई चुस्त दुरुस्त पारिएको छ ।